यूएन मिसन प्रश्नपत्र प्रकरण : दुई प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु

श्रावण २१, २०७८ | काठमाडौं

राष्ट्रसंघीय शान्ति मिसनमा जान इच्छुकका लागि लिइने प्रारम्भिक छनोट परीक्षाको प्रश्नपत्र चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले आफ्ना दुई कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखामै कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्यूरोमा कार्यरत प्रहरी हवल्दार कुमार साहलाई नियन्त्रणमा लिइएको सम्बद्ध स्रोतले जनाएको छ । परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको समाचार प्रकाशित भएपछि आईजीपी शैलेश थापा क्षेत्रीले डीआइजी वसन्तकुमार लामाको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको थियो । 

सो समितिले गरेको अनुसन्धानका क्रममा बमले प्रश्न पत्र चोरी गरी बिक्री गरेको पाइएको हो । समिति स्रोतका अनुसार बम र मुख्य योजनाकार साहलाई सशस्त्र प्रहरी नम्बर १ गणमा राखेर थप अनुसन्धान भईरहेको छ । 

स्रोतका अनुसार प्रारम्भिक परीक्षा दिँदै गरेका हवल्दार साहले बमसँग प्रश्नपत्र मागेका थिए । बमले पठाएको प्रश्नपत्र हवल्दार साहको भाइबरमा पनि भेटिएको छ । यस्तै, साहले अन्य परिक्षार्थीलाई प्रश्नपत्र दिएको भेटिएको छ । साह करीब आठ वर्ष यूएन शाखामै बसेर काम गरेका थिए । 

प्रहरी स्रोतले भन्यो– ‘चोरिएको प्रश्नपत्र केही एसएसपीसम्म पुगेको देखिन्छ ।’ यसैबीच, प्रश्नपत्र बाहिरिएको घटनाले शान्ति मिसनमा नेपालको छविमाथि नै आँच आउने जोखिम बढेकाले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । 

प्रारम्भिक परीक्षामा उत्तीर्ण हुनेलाई मात्र यूएन मिसनको अन्तिम परीक्षामा समावेश गराउने व्यवस्था छ । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा गत शुक्रबार र शनिबार भएको परीक्षामा प्रहरी जवानदेखि एसएसपीसम्म गरी २ हजार ४ जना सहभागी थिए । 

राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत प्रहरी परामर्श अनपोल मिसनका रुपमा जान अंग्रेजी भाषा, ड्राइभिङ तथा हतियार सञ्चालन लगायत विषयमा परीक्षा उत्तीर्ण हुनुपर्छ । 

प्रारम्भिक अर्थात् प्रि–स्याट परीक्षा उतीर्ण भए पश्चात् अन्तिम परीक्षा राष्ट्रसंघकै प्रतिनिधिको निगरानीमा सञ्चालन हुन्छ । स्याट परीक्षामा सहभागी हुनेको संख्या धेरै हुने भएकाले त्यसअघि प्रहरीले ‘प्रि–स्याट’ परीक्षा सञ्चालन गरेर अन्तिम परीक्षाका लागि छनोट गर्दै आएको छ । 


प्रतिक्रिया