खेलकुद

टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग इंग्ल्याण्ड ७ रनले पराजित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर एट अन्तर्गत दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेको छ । सेन्ट लुसियास्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको समूह–२ को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको हो । 

शीर्ष आठमा लगातार दोस्रो जित निकालेको दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन मात्र बनाउन सक्यो । 

इंग्ल्याण्डका ह्यारी ब्रुकले ५३ रनको अर्धशतकीय इनिङस् खेले । यस्तै, लियाम लिभिङस्टोनले ३३, जोस बटलरले १७ र जोनी बेयरस्टोले १६ रन बनाए । दक्षिण अफ्रिकका कागिसो राबाडा र केशव महाराजले समान २/२ तथा अर्टनिल बार्टम्यान र एनरिच नोट्र्जेले एक/एक विकेट हात पारे ।

त्यसअघि इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले ६५ रनको अर्धशतकीय इनिङस् खेले । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । 

यस्तै, डेभिड मिलरले २८ बलमा ४३ रन, रिजा हेन्ड्रिक्सले १९ र ट्रिस्टन स्टब्सले १२ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए । मोइन अलि र अदिल रशिदले समान एक/एक विकेट हात पारे । 

यो नतिजासँगै दक्षिण अफ्रिका ‘सुपर एट’को समूह–२ को शीर्ष स्थानमा रहेको छ । यसअघिका दुबै खेलमा विजयी भएको दक्षिण अफ्रिकाको चार अंक छ । दुई अंकसहित इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।