टी-२० विश्वकप : सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

असार ६, २०८१ | काठमाडौं

दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर एट’को पहिलो खेलमा आयोजक अमेरिकालाई पराजित गरेको छ । वेस्ट इन्डिजको सर भिभियन रिचर्ड्स स्टेडियममा गएराति भएको ‘सुपर एट’को समूह–२ को खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको हो । 

जितका लागि दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । 

अमेरिकाका एन्ड्रिस गौसले नटआउट ८० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । गौसले ४७ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । हरमित सिंह ३८ र स्टिभन टेलर २४ रन बनाएर आउट भए । 

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । यस्तै, केशव महाराज, एनरिच नोट्र्जे, तब्राइज साम्सीले समान एक–एक विकेट हात पारे ।

त्यसअघि अमेरिकाले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । उनले ४० बलमा ७ चौका र ५ छक्का प्रहार गरे । कप्तान एडेन मारक्रमले ४६ रनमा आउट भए । 

रिजा हेन्ड्रिक्सले ११ रन बनाउँदा हेनरिक क्लासेन ३६ र ट्रिस्टन स्टब्स २० रनमा नट आउट रहे । अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान २–२ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले ‘सुपर एट’को समूह–२ मा २ अंक जोडेको छ ।


प्रतिक्रिया