काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल आज
- काठमाडौंकाभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो संस्करणको काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
टिप टप हेल्प नेपालले सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । हेल्प नेपालले शुक्रबारको दोस्रो सेमिफाइनलमा एचडीसीलाई २५–१६, २५–१८, २५–२१ को सेटमा हराएको हो ।
यसअघि टिप टप हेल्प नेपालले उद्घाटन खेलमा भारतीय टोली क्यालिकटविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो । यस्तै, भारतको क्यालिकटले हिजो भएको पहिलो सेमिफाइनलमा इरानको युवा टोलीलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अपराजित हुँदै फाइनल पुगेको इरानले पहिलो सेटमा २५–२१ को अग्रताका बावजुद खेल गुमाएको थियो । त्यसपछि क्यालिकटले २५–२२, २५–२०, २६–२४ को सेटले खेल आफ्नो पक्षमा पारेको थियो ।
प्रतियोगिताको तेस्रो स्थानको लागि इरान जुनियर टिम र माल्दिभ्सको एचडीसीबीच प्रतिस्पर्धा हुनेछ । राखेपको कभर्डहलमा हुने यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालका २, भारत, माल्दिभ्स र इरानको समान एक–एक गरी ५ क्लबको सहभागिता रहेको थियो ।
काभाको यो वर्ष नेपाल भलिबल संघले आयोजना गर्ने दोस्रो प्रतियोगिता हो । संघले यसअघि गत साउनमा काभा महिला भलिबल नेसन्स लिग आयोजना गरेको थियो । त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो ।