काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि

मंसिर २२, २०८१ | काठमाडौं

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण काठमाडौंमा आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगिता आगामी २९ गतेसम्म चल्ने नेपाल भलिबल संघले जनाएको छ । 

च्याम्पियनसिपमा नेपालका २, भारत, माल्दिभ्स र इरानको समान एक–एक गरी ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा आठौं प्रधानमन्त्री कप एनभीए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश भलिबल संघ, भारतको क्यालिकट, माल्दिभ्सको एचडीसी क्लब र इरानको चादौरा मालो क्लबको सहभागिता रहेको छ । 

सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ खेल हुनेछ । उद्घाटन खेलमा टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र भारतको क्यालिकट क्लब बीच प्रतिस्पर्धा हुनेछ । 

राखेपको कभर्डहलमा हुने पहिलो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सको एचडीसीको सामना गर्नेछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा अपराह्न साढे ५ बजे सुरु हुनेछ । 

काभाको यो वर्ष नेपाल भलिबल संघले आयोजना गर्ने दोस्रो प्रतियोगिता हो । संघले यसअघि गत साउनमा काभा महिला भलिबल नेसन्स लिग आयोजना गरेको थियो । त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो । च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।


प्रतिक्रिया