बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि, विजेतालाई १० लाख
- धरानअन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण सुनसरीमा आजबाट सुरु हुँदैछ । आयोजक धरान फुटबल क्लबको रजत महोत्सवको रुपमा सञ्चालन हुने गोल्डकप प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ ।
आयोजक धरान फुटबल क्लबले रजत महोत्सवको रुपमा आयोजना गरिने गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा आयोजक क्लबसहित चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, साविक विजेता न्यूरोड टीम एनआरटी, झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, इटहरीको राष्ट्रिय जागृती क्लब, भुटानको आरटीसी एफसी, भारतको यूकेएफसीको सहभागिता रहने क्लबका महासचिव नवीन राईले जानकारी दिनुभयो ।
धरान रंगशालामा दिउँसो २ बजे हुने हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ र विधागत उत्कृष्टले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको विजेताले पाउने १० लाख रुपैयाँ पुरस्कार धरान–बहराइन एकता समाज धरान यूकेले प्रायोजन गरेको हो । यस्तै, उपविजेताले पाउने ५ लाख रुपैयाँ भने पोर्चुगलमा रहेका अरुण राईले प्रायोजन गरेको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।
२०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष हुन सकेको थिएन ।