बुढासुब्बा गोल्डकपको तयारी पूरा, विजेतालाई १० लाख

माघ १८, २०८१ | सुनसरी

आगामी शनिबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको तयारी पूरा भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार सुनसरीमा पत्रकार सम्मेलन गर्दै रजत महोत्सवको रुपमा आयोजना गरिने गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

माघ २६ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगिताको लागि रंगशालादेखि ब्यवस्थापनसम्मको तयारी सकिएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । 

शनिबार हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाईज युनाइटेडका खेलाडी धरान आईसकेको र नेपाल पुलिस क्लबका खेलाडी शुक्रबार आइपुग्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस सहित साविक विजेता न्यूरोड टीम एनआरटी, झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, इटहरीको राष्टिय जागृती क्लब, भुटानको आरटीसी एफसी, भारतको यूकेएफसी र आयोजक धरान फुटबल क्लबको सहभागिता रहने क्लबका महासचिव नवीन राईले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले पाउने १० लाख रुपैयाँ पुरस्कार धरान–बहराइन एकता समाज धरान यूकेले प्रायोजन गरेको छ । यस्तै, उपविजेताले पाउने ५ लाख रुपैयाँ भने पोर्चुगलमा रहेका अरुण राईले प्रायोजन गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

प्रत्येक खेलको म्यान अफ दि म्याचको पुरस्कार माउन्ट एभरेष्ट ट्रेनिङ सेन्टरले दिने र सर्वोत्कृष्ट खेलाडीका लागि दिइने १ लाख रुपैयाँ पुरस्कार पोर्चुगलमा रहेका केन्द्र लिम्बूले प्रायोजन गरेको आयोजकले जनाएको छ । 

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् भने विधागत उत्कृष्टले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । २०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष हुन सकेको थिएन ।


प्रतिक्रिया