जिल्ला संरचना कमजोर हुँदा नेपाली क्रिकेटमा दीर्घकालिन असर

पुस १५, २०८० | काठमाडौं

नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता पाएपनि घरेलु क्रिकेटमा उमेर समूहका प्रतियोगिता शून्य प्रायः छन् । राष्ट्रिय टिमका खेलाडी व्यस्त भएपनि उमेर समूहको घरेलु प्रतियोगिता भने अवरुद्ध छ । जिल्ला तहमा प्रतियोगिता नहुँदा क्रिकेट संघ जिल्ला कमिटीले प्रदेश वा केन्द्रको आग्रहमा सीमित खेलाडी छनोट मात्र गरिरहेका छन् । भुमिकाविहिन जस्तै भएका जिल्ला क्रिकेट संघलाई सक्रिय बनाउन नसकिए नेपाली क्रिकेटको संरचना कमजोर हुने र त्यसको दीर्घकालिन असर पार्ने जोखिम बढाएको छ ।

यू–१९ विश्वकप लगायत उमेर समूहका अधिकांश प्रतियोगितामा उत्कृष्ट प्रर्दनश गर्दै एक समय नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिएका खेलाडी सुशील कंडेल हाल जापानमा छन् । राष्ट्रिय टिममा समेत स्थान बनाएका सुशील करियरको उचाइमा रहेका बेला क्रिकेट त्याग्दै विदेशीए । क्रिकेट खेलेरै देशका लागि केही गर्छु भन्ने सोच बनाए पनि यसमा भविष्य नदेखेपछि विदेशीएको सुशील बताउँछन् । नेपाली क्रिकेटको घरेलु संरचना बलियो बनाउन सके प्रतिभावान खेलाडी पलायनको बाटो बन्द हुने थियो । तर जिल्ला भित्रको राजनीति र कमजोर व्यवस्थापनले क्रिकेट विकासमा अवरोध सृजना गरेको खेलाडीहरुको गुनासो छ । नियमित रुपमा प्रतियोगिता नहुँदा खेलाडीलाई एक्सपोजर पाउन वर्षाै कुर्नुपर्ने बाध्यता छ । पहिलेको तुलनामा हाल जिल्लामा क्रिकेट गतिविधि चलायमान भए पनि त्यो उत्कृष्ट भने नभएको खेलाडीहरु गुनासो गर्छन् । नेपाल क्रिकेट संघ क्यानले नै लिग म्याच आयोजना गरे खेलाडीले एक्सपोजर पाउने बताउँछन् चितवन जिल्लाको प्रतिनिधित्व गर्दै बाग्मती प्रदेशबाट यू–१९ क्रिकेट खेलेका खेलाडी प्रतिक श्रेष्ठ ।

नेपाल क्रिकेट संघ क्यान मातहतका ४५ जिल्ला छन् । हरेक जिल्ला क्रिकेट संघले विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै हप्ताको दुई दिन कम्तिमा एक खेल रहने गरि विद्यालय स्तरमा दुई दिवशिय क्रिकेट प्रतियोगिता संचालन गर्न सके खेलकुद गतिविधि चलायमान हुने अपेक्षा धेरैले गरेका छन् । तर बजेट अभावका कारण जिल्लाभित्र क्रिकेट गतिविधि कम हुने गरेको नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष धमनाथ सापकोटाले बताउँछन् ।

जिल्लामा क्यानले बजेट नदिएको गुनासोका स्वरहरु सुन्निछन् । पर्याप्त बजेट नभएको भन्दै क्यानको जिल्ला संरचना समेत केन्द्रसँग असन्तुष्ट हुँदै आएको छ । केन्द्र भने जिल्लाले आफै स्थानिय पालिकाहरुसँग समन्वय गरेर क्रिकेट प्रतियोगिता गर्नुपर्ने तर्क गर्छ । बजेटको होस् वा खेल मैदान लगायत प्राविधिक विषयमा स्थानिय पालिकाहरु आफैमा सम्पन्न भएको केन्द्रको भनाइ छ । यस्तो अवस्थामा जिल्लाले प्रतियोगिताहरु आयोजना गर्न सकेका छैनन् । प्रतियोगिताका लागि पालिकासँग समन्वय गर्न नसक्नु नै प्रमुख कारण भएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको भनाई छ ।

ठूला प्रतियोगिता आयोजना गर्ने दायित्व केन्द्रको हुन्छ । ठूला प्रतियोगिता खेल्न सक्ने खेलाडी उत्पादन गर्ने जिम्मा भने जिल्लाको हुनेगर्छ । जिल्ला क्रिकेटले आफ्नो जरा बलियो बनाए प्रदेश र राष्ट्रिय टीमले अब्बल खेलाडी पाउने खेल क्षेत्रका जानकारहरुको भनाइ छ । त्यसका लागि जिल्लाले स्कुल स्तरसहित उमेर समूहका प्रतियोगीताहरुलाई प्राथमिकतामा राख्नु पर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी एव्ां क्रिकेट कोच शक्ति गौचन बताउँछन् ।

स्थानिय तहहरुले खर्च गर्न नसकेर वर्षेनी करोडौँ रकम फ्रिज भइरहेको छ । जिल्ला क्रिकेट संघहरुले स्थानिय तहसँग समन्वय गरी प्रतियोगिता आयोजना गर्न सके बजेटको अभाव अन्त्य हुने देखिन्छ । क्रिकेटको विकास हुन जिल्ला संरचनामा उमेर समूह खेलेका खेलाडीलाई व्यवसायीक बनाउन जरुरी छ । अन्यथा भएका खेलाडी समेत पलायन हुने नेपाली फुटबलको नियती नेपाली क्रिकेटले भोग्ने चिन्ता व्यक्त भएका छन् । 


प्रतिक्रिया