पत्रकारिताका दायरा फराकिलो, पेशाप्रति भने आकर्षण घट्दो

वैशाख २७, २०८१ | काठमाडौं

सूचना प्रविधिमा आएको आमूल विकासक्रमले अन्य मुलुकमा जस्तै नेपालमा पनि पत्रकारिताका विधाहरू थपिदै गएका छन् । परम्परागत भनिएका अखवार, रेडियो र टेलिभिजनसँगै नयाँ माध्यमका रूपमा स्थापित डिजिटल मिडिया विभिन्न स्वरूपमा विकसित भएका छन् । दर्शक, स्रोता र पाठकको रूचि अनुसार सूचना, समाचार र मनोरञ्जनका लागि सञ्चारमाध्यमको विस्तार समेत भइरहेको छ ।

पत्रकारिताले व्यवसायिकता ग्रहण गरेपनि यो पेशामा आउन चाहनेहरूको आकर्षण भने घट्दै गएको छ । त्यस्तै, आर्थिक लगायत विविध कारणले पत्रकारहरू पेशाबाट पलायन हुने क्रम बढेका छन् ।

लोकतन्त्र बहालीसँगै नेपालमा पत्रकारिताको परिधि फराकिलो बनेको छ । तथ्याङ्क अनुसार नेपालमा २ हजार ४ सय हाराहारीमा महिला र १० हजार ६ सय पुरूष पत्रकारिता कर्मसँग जोडिएका छन् । संख्यात्मक रूपमा सञ्चारमाध्यम बढेपनि गुणस्तर कायम भने हुन नसकेको जानकारहरूको भनाइ छ । त्यसमाथि पछिल्ला केही वर्षयता पत्रकारितामा आउन चाहानेको संख्यामा कमी हुँदै गएको छ ।

पत्रकारिताप्रतिको आकर्षण किन घट्यो त भन्ने प्रश्नमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका प्राध्यापक एवं निवर्तमान विभागीय प्रमुख चिरञ्जीवी खनाल भन्छन्– “पत्रकारितामा रोजगारीको अवसर कम हुनु, रोजगारी पाउनेको सेवा सुविधामा हुने कटौतीको प्रसँग र पत्रकारिता विषयका विद्यार्थीमा अन्य क्षेत्रका जस्तै गरि देखिएको अस्थितरताले प्रभाव पारेको छ ।”


२०६२÷६३ को राजनीतिक परिवर्तनपछि पत्रकारितामा आउन चाहानेको संख्या बढेको थियो । पत्रकार महासंघको पछिल्लो विवरण अनुसार महासंघमा सूचीकृत हुने पत्रकारको संख्या १३ हजार ७७ छ । जसमध्ये १० हजार ६ सय ७९ जना पुरूष र २ हजार ४ सय ८ जना महिला छन् । तर, अधिकांश जिल्लामा महासंघको सदस्यता नलिने पत्रकारको संख्या पनि उल्लेख्य मात्रामा छ ।

पत्रकारको संख्यामा लैंगिक अनुपात समेत भिन्न छ । महासंघका अनुसार सबैभन्दा कम मधेश प्रदेशमा महिला पत्रकारको संख्या १ सय ७ मात्र छ । त्यसपछि कर्णाली प्रदेशमा १ सय ३१, सुदूरपश्चिममा १ सय ६३, गण्डकी प्रदेशमा १ सय ८२ जना महिला पत्रकार छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने महिला पत्रकारको संख्या ४ सय १३ हुँदा पुरूष पत्रकारको संख्या १ हजार ७ सय ४५ छ । महिलाहरू पत्रकारिता पेशमा आउन नसक्नुुमा सामाजिक परिवन्ध मुख्य कारण देखिएको सञ्चारकर्मी आरती चटौतले बताइन् ।


पत्रकारितालाई विश्वसनीय बनाउन नेपालमा यसको उच्च तहसम्म विभिन्न क्याम्पस तथा विश्वविद्यालयले समेत अध्ययन अध्यापन गराइरहेका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्गत रत्न राज्य (आर.आर) क्याम्पसमा सञ्चालित स्नातक तहमा मात्र अहिले १ हजार १ सय विद्याार्थी अध्ययनरत छन् । समग्रमा पत्रकारिता गर्नेको संख्या घट्नुमा मिडिया क्षेत्रको आन्तरिक विषय पनि प्रमुख कारण भएको सो क्याम्पसका पत्रकारिता विभाग प्रमुख जगत नेपाल बताउँछन् ।


मुलुककै पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले देशभरका विभिन्न जिल्लास्थित ५० बढी क्याम्पसलाई स्नातक तहको अध्यापन गराउन अनुमति समेत दिएको छ । विश्वविद्यालयले आफ्नो ६ वटा आङ्गिक क्याम्पसबाट पनि यो विषयमा पठनपाठन गर्दै आएको छ । काठमाडौंको आरआर क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, कास्कीको पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर र महेन्द्र बहुमुखी क्याम्पस धरानमा विश्वविद्यालयलले आङ्गिक क्याम्पसमार्फत् स्नातक तहको पढाइ सञ्चालन गर्दै आएको छ ।

अध्ययनमा सहभागी हुने र अध्ययनपछि पत्रकारितामा आउनेको संख्यामा पनि अन्तर देख्न सकिन्छ । पत्रकारिता क्षेत्रमा पर्याप्त सेवा सुुविधा नहुुनुु र कामप्रतिको सन्तुुष्टि मिल्न नसक्दा लामो समय काम गरिसकेका पत्रकार समेत पेशाबाट पलायन हुनुपर्ने अवस्था भएको पत्रकारिता विषयमा स्नातकोत्तर गरिरहेका रविन पुन मगरले बताए ।


पत्रकारिताको अध्ययनका लागि त्रिवि बाहेकका अन्य विश्वविद्यालय अन्तर्गतका केही निजी कलेजले समेत विभिन्न कोर्स सञ्चालन गरिरहेका छन् । त्यस्तै, नेपाल प्रेस इन्स्टिच्युट लगायत संस्थाबाट समेत पत्रकारितासम्वन्धि तालिम दिने गरिएको छ । सूचना तथा प्रसारण विभागको पछिल्लो विवरण अनुसार नेपालमा ७ हजार बढी अनलाइन तथा पत्रपत्रिका, १ सय ८६ वटा टेलीभिजन, १२ सय ८० वटा रेडियो सञ्चालनका लागि लाइसेन्स वितरण भएको छ ।

तर ९ सय ३१ वटा मात्र रेडियो स्टेशनहरू सञ्चालनमा छन् । फरक विधाका रूपमा युट्युव च्यानलमार्फत् समेत सूचना र समाचार पस्किने क्रम बढ्दै गएको छ । सञ्चारका माध्यम बढेपनि पत्रकारको संख्या वृद्धि हुन नसक्नु समग्र पेशाका लागि ठूलो चुनौतीको रूपमा देखा परेको छ । 


प्रतिक्रिया