नेपाली महिला क्रिकेटको व्यथा

फाल्गुन १३, २०८० | काठमाडौं

नेपाली पुरुष क्रिकेटको जति चर्चा त्यतिनै ओझेलमा महिला टोली छ । खेल होस् या इतिहास कथा जहिल्यै जित्नेकै लेखिन्छ । कुनै समय थियो, जतिबेला नेपालको पुरुष टोलीले भन्दा पहिले महिलाले विश्वकप क्रिकेट खेल्छ भनेर लख काटिन्थ्यो । तर, समयले यस्तो कोल्टे फेर्यो कि नेपाली महिला क्रिकेट टोलीभन्दा पुरुष टोलीको सफलताको बेग कयौं गुणा माथि पुग्यो । फलतः क्यानले उपलब्ध गराउने सेवा सुविधा र उसको वार्षिक क्यालेन्डरमा समेत महिला क्रिकेटले उपयुक्त र पर्याप्त स्थान प्राप्त गर्न सकेको छैन । जसले गर्दा महिला क्रिकेट टोलीको भविष्यलाई लिएर चिन्ता र चासो प्रकट हुन थालिसकेका छन् । 

मलेसियामा आयोजित एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोलीसँग ४ विकेटले स्तब्ध भएपछि नेपालको ९ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै रह्यो । मुखैमा आएको एसिया कप गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् ।

नेपालमा महिला क्रिकेटको इतिहास खासै लामो छैन । २०६१ सालतिर आएर राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले महिला क्रिकेटको परिकल्पना गरे । सन् २००७ मा मलेसियामा भएको पहिलो महिला एसीसी प्रतियोगितामा थाईल्याण्डविरुद्ध खेल्दै नेपालले अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको हो । नेरी थापाको कप्तानीमा रहेको नेपालले थाईल्याण्डविरुद्ध सो खेलमा ५५ रनको एतिहासिक जित हात पा¥यो । यसरी आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा विजयी हुँदै उत्साहजनक शुरुवात गरेको राष्ट्रिय महिला टोली अहिले भने सरोकारवाला निकायकै समेत वेवास्तामा परेको छ । क्यानले गत पुस १९ मा वार्षिक क्यालेण्डर सार्वजनिक गर्दा पनि महिला क्रिकेटलाई सम्झिएन । महिला होस् या पुरुष टोलीले दुवै तर्फका खेलाडीलाई समानताका साथ अघि बढाउनु पर्ने महिला क्रिकेटका नेपाली पिता भनेर चिनिने एलबी क्षेत्रीले बताए ।

क्यानको वार्षिक क्यालेन्डरमा सिनियर र उमेर समूहका गरि कुल २८ वटा घरेलु प्रतियोगिता समावेश गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ पनि २७ वटा प्रतियोगितामा पुरुष टोलीले सभागिता जनाउने क्यानको क्यालेन्डरले देखाउँछ । महिलाका लागि वार्षिक क्यालेन्डरमा ४ वटा मात्रै घरेलु प्रतियोगीता समेटीएका छन् । अन्तर्राष्ट्रिय र सबै उमेर समूहका गरी जम्मा ७ वटा मात्रै प्रतियोगितामा महिला सहभागिता रहने छ । जसमध्ये अधिकांश क्यानले प्रस्ताव गरेका प्रतियोगिता छन् । म्याच एक्सपोजरमा मात्र नभएर पुरुष र महिला खेलाडीलाई दिने सेवा सुविधामा समेत क्यानले विभेद गरेको छ । महिला टिमले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न सकेको छैन । नतिजा निकाल्न सक्ने हो भने सेवा सुविधा पनि थप हुन्थ्यो की ? राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान नीरा राजोपाध्यायले बताईन् ।

तर, क्यान यो मान्न तयार छैन । सेवा सुविधा र म्याच एक्सपोजर टीमको प्रदर्शनमा पनि भर पर्ने उसको तर्क छ । वार्षिक क्यालेन्डर आवश्यक परे परिवर्तन गर्न सकिने बताउने क्यान सेवा सुविधाको हकमा महिला टोली अन्यायमा परेको आफैं स्वीकार्छ । तर त्यसलाई सच्याउने तत्परता देखाउन कञ्जुस्याईं गर्छ । क्यानले आफ्नोतर्फबनट सक्दो प्रयास गरेको र खेलाडीले सोही अनुसार प्रदर्शन गर्नु पर्ने बताउँछन् क्यानका अध्यक्ष चतुरबहादुर चन्द ।

राष्ट्रिय महिला क्रिकेट टीमको अवस्था सधैं यस्तो दुरुह थिएन । कुनै समय पुरुष टोली भन्दा अझ राम्रो क्रिकेट खेल्ने टोलीका रुपमा महिलाको गणना हुन्थ्यो । तर, खेलाडी, व्यवस्थाक, प्रशिक्षक र मुख्य गरी नियामक निकायले नै लत्तो छोडेपछि महिला क्रिकेटको अधोगति शुरु भएको हो । पुरुष टोलीको तुलनामा महिला टोलीको मेहेनत कम देखिएको नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवाल बताउँछन् ।

महिला क्रिकेटमा ए ग्रेडका खेलाडीहरुको मासिक पारिश्रमिक १५ हजार रुपैंया मात्र छ । बी र सी ग्रेडकाको त के कुरा गर्नु । पुरुषतर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रूपैयाँ प्राप्त गर्छन् । भन्नलाई त महिला टोली र पुरुष टोलीले पाएको सफलतालाई आधार मान्दा पारिश्रमिकमा विभेद भयो भन्न नमिल्ला । तर, समान परिणामको आशा गर्ने क्यानले असमान सेवा सुविधा र अवसर प्रदान गरेर महिला टोलीलाई हतोत्साही त बनाइरहेको छैन ? सोच्ने बेला आइसकेको छ ।  


प्रतिक्रिया