कटन क्यान्डी स्वास्थ्यका लागि हानीकारक हुने विज्ञहरुको भनाई

फाल्गुन २४, २०८० | काठमाडौं

मेला, महोत्सव, जात्रा, विभिन्न सार्वजनिक स्थल, सडक पेटी, बजार लगायतका स्थानमा कटन क्यान्डी खुल्ला रुपमा विक्रि वितरण भइरहेका छन् । खासगरी बालबालिकाको रोजाइमा गुलाबी रंगमा प्लाष्टिकको प्याकेटमा बनाइएकोे कटन क्यान्डी पर्ने गरेका छन् । 

मुखमा राख्ने बित्तिकै पग्लिने कटन क्यान्डीमा पछिल्लो समय क्यान्सर रोग लाग्न सक्ने तत्व रोडामाइन बी भेटिएपछि विभिन्न देशमा यसको प्रयोगमा प्रतिवन्ध लगाइएको छ ।

नेपालमा पनि केही स्थानीय तहले कटन क्यान्डीको प्रयोग गर्न रोक लगाएका छन् । 

खासमा कटन क्यान्डी खाँदा स्वास्थ्यमा पर्ने असर के हो र सम्वन्धित निकायले कसरी यसको बेचविखनको अनगुमन गरिरहेको छ त ?

चिनीको प्रयोगबाट बनाइने कटन क्यान्डीको प्रयोग १९ औं शताब्दीमा युरोपबाट शुरु भएको पाइन्छ । चिनी पगालेर बनाइने कटन क्यान्डीमा खाने रंगको प्रयोग समेत गरिन्छ । यसलाई क्यान्डी फ्लस पनि भनिन्छ । 

यसको सुरुवात युरोपबाट भएको भए पनि समयक्रममा संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, न्युजील्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, संयुक्त अरब इमिरेट्स यूएई, साउदी अरब, इजिप्ट, कोरीया, इरान, भारत र नेपालमा पनि यसको विक्रि वितरण हुने गर्छ । पछिल्लो समय कटन क्यान्डीमा प्रयोग हुने रंग मानव स्वास्थ्यका लागि घातक हुने भन्दै विभिन्न देशले यसको विक्रि वितरणमा प्रतिबन्ध लगाएका छन् । 

हालै भारतको तमिलनाडु र पन्डीचेरीमा कटन क्यान्डी बेचबिखनमा रोक लगाइएको छ । परिक्षणका लागि प्रयोगशाला पठाइएका नमुनाहरुमा क्यान्सर लगाउन सक्ने तत्व रोडामाइन बी भेटिएपछि कटन क्यान्डीको विक्रि वितरणमा प्रतिबन्ध लगाईएको हो । रोडामाइन बी नामक रासायनिक पदार्थ कपडा रंग्याउन, मसी बनाउन, घरमा लगाइने पेन्ट तथा प्लाष्टिक बनाउन प्रयोग गरिने कलरको नाम हो । मानव स्वास्थ्यमा हानी गर्ने तत्व भेटिएपछि नेपालमा पनि यसको विक्रि वितरणमा कडाई गरिएको छ ।

 काठमाडौँ महानगरपालिका, चाँगुनारायण नगरपालिका, तनहुँ जिल्ला प्रशासन कार्यालय लगायतले सूचना नै जारी गरी कटन क्यान्डी बिक्री वितरणमा रोक लगाएका हुन् । यसमा प्रयोग गरिने रङ मानव स्वास्थ्यका लागि घातक हुने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको भनाइ छ ।

कटन क्यान्डी खाँदा कतिपयमा डायरिया र कब्जियत हुने, इन्फेक्सन हुने, पेट सुन्निने, अपच हुने, उल्टी तथा वजन घट्दै जाने लगायतका लक्षणहरु सुरुवाती चरणमा देखिन्छन् । यस्ता अखाद्य तत्वहरुले मानिसको पेट, ठूलो आन्द्रा, मलद्धारका कोशिकाहरु लगायतमा असर पार्ने विज्ञहरु बताउँछन् । शरिरमा हुने यस्ता खालका परिवर्तनले क्यान्सर निम्त्याउने देखिन्छ । 

विभिन्न प्रकारका रंगको प्रयोग गरि बनाईएका खाने कुरा खाँदा यसले मानव स्वास्थ्यमा दिर्घकालीन असर पार्ने खाद्य स्वच्छता विशेषज्ञ निर्भिक श्रेष्ठ बताउँछन् ।

स्वास्थ्यका लागि घातक हुने रङ प्रयोग गरिएको भन्दै पछिल्लो समय कटन क्यान्डी उत्पादन, बिक्री वितरणमा रोक लगाउन थालिएको हो । रोक लगाउने कदमप्रति व्यवसायीहरु भने सन्तुष्ट छैनन् । कस्ता खालका कटन क्यान्डी विक्रि वितरणमा रोक लगाइएको हो ? स्पष्ट खुलाउनु पर्ने वाउ कटन क्यान्डीका संस्थापक शुभाकर मानन्धर बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त रंगको प्रयोग गरि उत्पादित सामानले पनि बजार पाउन नसकेको उनले बताए ।

कटन क्यान्डी जस्तै विभिन्न मिठाइमा पनि अखाद्य रङ प्रयोग हुने गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले स्थानीय तहसँग सहकार्य गरी त्यस्ता खाद्यवस्तुबारे अनुगमन भइरहेको बताए । तोकिएका विभिन्न रङको निर्धारित मात्रा अनुसार उत्पादकहरूले खाद्य सामग्री बनाउनुपर्ने उनको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतका ३० वटा कार्यालयहरुबाट ७७ जिल्लाका स्थानीय तहमा अनुगमन भईरहेका छन् । खाद्य रंगको प्रयोग गर्न पर्यो भने खाद्य नियमावलीमा तोकिएका खाद्य रंगहरु जुन तोकिएका मात्रामा र तोकिएको विधिबाट प्रयोग गर्न पाइने व्यवस्था छ ।

विषेशगरी बालबालिकाले रुचाउने कटन क्यान्डी मेला, महोत्सव, जात्रा, विभिन्न सार्वजनिक स्थल, सडक पेटी, बजार, क्याफे लगायतका स्थानमा खुला रुपमा बिक्री वितरण हुँदै आएका छन् । त्यसैले मानव स्वास्थ्यलाई असर पार्ने सामग्रीको खाने बानी हटाउन सबैको पहल आवश्यक छ । 


प्रतिक्रिया