तिलोत्तमामा घरदैलो स्वास्थ्य परीक्षण सुरु

माघ ८, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण सुरु गरेको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको सुबिधाका लागि नगरपालिकाका १७ वटै वडामा एकसाथ घर–घरमै स्वास्थ्य परीक्षण सेवा थानली गरिएको नगरपालिकाले जनाएको छ । 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ज्येष्ठ तथा अपांगता नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ३ लाख रुपैयाँ विनियोजन गरी सो सेवाको थालनी गरिएको स्वास्थ्य शाखा प्रमुख केशव भट्टराईले बताउनुभयो । 

पालिकाभित्रका ५ हजार बढी नागरिकलाई सो सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सबै क्षेत्रमा नमूना काम गर्ने प्रयास गर्दै अघि बढेकाले स्वास्थ्य सुविधालाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले अस्पताल र स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने व्यक्तिलाई लक्षित सञ्चालित कार्यक्रमले स्थानीय लाभान्वित हुने उल्लेख गर्नुभयो । 

घरघरमै पुगेर पालिकाका स्वास्थ्यकर्मीले मधुमेह, उच्च रक्तचाप, छाला सम्बन्धी रोग, आंँखा जाँच, पेट सम्बन्धी रोगको परीक्षण गरी निःशुल्क औषधि समेत उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।


प्रतिक्रिया