नदीनाला सुक्खा भएपछि सोमबारबाट गेरुवामा पानी फर्काईदै

वैशाख ३, २०८१ | बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भँगालो सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । 

प्रत्येक वर्ष चैत पहिलो साता निकुञ्जको पश्चिम सिमाना भएर बग्ने गेरुवामा पानी फर्काउने गरिएको थियो । यसपटक जिल्लास्थित सिंचाइ डिभिजन कार्यालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तदारुकता नदेखाउँदा ढिलाई भएको हो । 

चिसापानी पुलभन्दा दक्षिण लालमाटीबाट कर्णाली बर्दिया र कैलालीतर्फ दुई भँगालोमा बाँडिने गरेको छ । पहिले बर्दियातर्फ बग्ने गेरुवा ठूलो भँगालोका रुपमा थियो । गेरुवामा प्रशस्त पानी हुँदा थुप्रै प्रजातिका माछा, डल्फिन देखिन्थे । सात वर्षदेखि गेरुवामा पानी घट्दै गयो । 

कैलालीतर्फ अत्यधिक उत्खननले नदी गहिरिएर धेरै पानी बग्न थाल्यो । जसले गर्दा बर्दियातर्फ गिटी, बालुवा थुप्रिएर बाँध जस्तै बन्यो । अहिले गेरुवा समेत निकुञ्ज भित्रका साना भँगालोमा सुक्खा छन् । पानी अभाव भएपछि काकाकुल वन्यजन्तु निकुञ्ज छाडेर भारत प्रवेश गरिरहेका छन् । 

वन्यजन्तुको मुख्य वासस्थानमा पानीका प्राकृतिक स्रोत सुक्न थालेपछि संरक्षणकर्मी चिन्तित छन् । पानीको समस्या चर्केपछि चालू आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेश सरकारले गेरुवाको मुहान क्षेत्रबाट ढुंगा, गिटी र बालुवा हटाउन दुई करोड रुपैयाँ आपतकालीन खर्चका लागि विनियोजन गरेको थियो ।

जिल्ला सिंचाइ डिभिजन कार्यालयले ढुंगा, गिटी उत्खननका लागि ठेक्का लगाइसकेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कार्यादेश बिना काम गर्न निकुञ्ज प्रशासन हिच्किचाएपछि ढिलाई भएको हो । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वन्यजन्तु प्रभावित हुने भएपछि आपकालीन खर्चका लागि बजेट निकासा गरिएको जानकारी दिनुभयो ।

‘ढिलाई हुनसक्छ भनेर आपतकालीन फन्डका रुपमा पैशा पठाइएको थियो,’ चौधरीले भन्नुभयो, ‘समस्या अवलोकन गरेपछि तत्काल बजेट निकासा गरिएको हो । प्रदेश मन्त्रिपरिषदले गरेको निर्णय अलपत्र पर्ला भन्ने थिएन ।’ बजेट व्यवस्था गरेर पनि वन्यजन्तु तड्पिने अवस्था सिर्जना भएकोमा उहाँले दुख व्यक्त गर्नुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ठाकुरबाबा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्यले पानी अभावले वन्यजन्तु छटपटिएको समाचार प्रकाशित भएपछि निकुञ्ज विभागले तीन दिनअघि पानी फर्काउन कार्यादेश पठाइसकेको जानकारी दिनुभयो । ‘तर, सिंचाइ डिभिजन कार्यालयले इन्जिनियर पठाएर काम गर्नका सहजीकरण नगर्दा केही दिन विलम्ब भयो,’ उहाँले भन्नुभयो, ‘वन्यजन्तुको पीडा कर्मचारीलाई थाहा नहुने रहेछ ।’ 

विभागको कार्यादेश पत्र आएपछि प्रमुख संरक्षण अधिकृत डा. अशोक रामसहित निकुञ्ज कर्मचारी र संरक्षण सरोकारवालाले गेरुवाको मुहानमा पुगेर अवलोकन गरिसकेको उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष मुहानमा ढुंगा, गिटी र बालुवा थुप्रिएर प्राकृतिक बाँध बन्ने भएकाले दिगो समाधानका लागि पहल हुनुपर्ने उहाँले बताउनुभयो । ‘त्यति धेरै माछा र डल्फिन कहाँ गए होलान,’ ठाकुरबाबा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष आचार्यले भन्नुभयो, ‘पहिले डुंगाले तर्नुपर्ने नदीमा अहिले मोटर चल्छन् ।’

गेरुवा लगायत भँगालोमा पानी सुकेपछि यसवर्ष पर्यटन व्यवसायीले र्‍याफटिङ सञ्चालन गर्न पाएनन् । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले गेरुवाको मुहानमा थुप्रिएका नदीजन्य पदार्थ हटाउन गत फागुन २१ गते करीब दुई करोड रुपैयाँ ठेक्का सम्झौता गरिएको जनाएको छ । 

निकुञ्ज विभागको अनुमति पर्खिदा डेढ महिना बितेको कार्यालयले जनाएको छ । कार्यालयले दुई महिना अघि गेरुवा नदीको लालमटियामा थुप्रिएको नदीजन्य पदार्थ हटाउन १ करोड ९५ लाख रुपैयाँ प्रदेश सरकारबाट प्राप्त गरेको थियो । 

लालमाटीमा उत्खननका लागि हिमचुली निर्माण सेवाले कुल बजेटको आधा भन्दा कम करीब ९४ लाख रुपैयाँमा ठेक्का कबोल गरेको डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर विकले बताउनुभयो ।

‘काम थाल्नका लागि निकुञ्ज विभागको अनुमति पायौँ । सोमबारबाट नदीजन्य पदार्थ हटाउने काम सुरु गरिनेछ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्ज विभागको अनुमति प्रक्रियामा भएको ढिलासुस्तीका कारण उत्खननको काम अघि बढ्न नसकेको हो ।’ एक महिना भित्र उत्खननको काम सक्नेगरी ठेक्का सम्झौता भएको डिभिजन कार्यालय प्रमुख विकले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष तीन पटक गेरुवाको मुहानबाट गिटी, बालुवा हटाएर पानी पर्काउने गरेको छ । त्यसले दिगो रुपमा समाधान हुन सकेको छैन । प्रत्येक सुक्खा याममा पानीको अभाव हुने गरेको छ । 

चालू वर्ष पनि गत कात्तिकमा गिटी–बालुवा उत्खनन् गरेर पानी फर्काइएको थियो । त्यसपछि पुसमा पानी फर्काइयो । चैत पहिलो साता पानी खोल्न नपाएपछि सुक्खा बढेको निकुञ्जले जनाएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नदीजन्य पदार्थ हटाउन अनुमति पत्र पठाएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले विभागबाट स्वीकृत आएकाले नदीजन्य पदार्थ हटाउने काम सुरु गरिने बताउनुभयो । त्यसका लागि कार्यालयले आवश्यक समन्वय र तयारी पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो । 

सिंचाइ डिभिजन कार्यालय र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आइतबार लालमाटी क्षेत्र पुगेर संयुक्त सर्वे पूरा गरेको छ । लालमाटीमा करीब ९० हजार घनमिटर ढुंगा रहेको अनुमान छ । लालमाटीका चार ठाउँमा जेसीभी मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ हटाइने सिंचाइ डिभिजन कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । 

पानी सुकेपछि ठाकुरबाबा र मधुवन नगरपालिकाका कुला सुकेका छन् । पश्चिम राजापुर र गेरुवा गाउँपालिकामा सिंचाइमा समस्या भएको छ । गेरुवामा पानी सुकेपछि पर्यटन व्यवसायी, कृषक मारमा परेको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो ।


प्रतिक्रिया