रवि लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीका पीडितले गरे प्रदर्शन

वैशाख ४, २०८१ | भैरहवा

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । 

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । 

बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरुप विरोधमा उत्रिएको बताएका छन् । 

सुप्रिम सहकारी पीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले रकम हिनामिनामा संलग्न सो संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न पनि माग गरेका छन् ।

बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए । 

प्रदर्शनमा सहभागीहरुले गृहमन्त्री लामिछानेले मुख्य आरोपित जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछानेमाथि छानबिनको माग गरेका हुन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुई करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ । 

रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । 

संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताउनुभयो । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं आएर संघीय सदन घेराउ गर्ने उहाँले चेतावनी दिनुभयो ।


प्रतिक्रिया