अवैद्य रुपमा ल्याउँदै गरेको केराउ सहित एक पक्राउ
असार ७, २०७६ | बर्दिया
अवैध रुपमा भारत लैजान लागेको सय बोरा केराउ सहित एक जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । भे १ क २६२ नम्बरको ट्रकमा लोड गरी भारत लैजाँदै गरेको अवस्थामा सो परिमाणको केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।
सदरमुकाम गुलरिया—८ स्थित भन्सार कार्यालयको अनुमति नलिई भारत लैजान लागेको अवस्थामा सो परिमाणको केराउ सहित चालक नेपालगञ्ज—४ का २५ वर्षीय राजन भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
प्रहरी नायव उपरिक्षक मदन जित महराका अनुसार बरामद गरिएको ५० क्वीन्टल केराउको मूल्य २ लाख ६० हजार र मिनी ट्रकको १० लाख रुपैयाँ रहेको छ । उद्योग वाणिज्य संघले ल्याउँदै गरेको सो केराउ प्रहरीले नेपालगञ्जबाट गुलरिया ल्याउने क्रममा बीच बाटोबाट नियन्त्रणमा लिई झुठो मुद्दा दायर गरेको आरोप लगाएको छ ।
क्यानडाबाट आएको केराउ भारतमा तस्करी हुने गरेको छ । तस्करले जमुनी, गणेशपुर, मथुराहरीद्धार र मधुवन नाकाबाट केराउ अवैद्य रुपमा पठाउने गरेको प्रहरीले जनाएको छ । यसै बीच आज बिहान जमुनी नाकाबाट ५ बोरा केराउ भारत लैजाने क्रममा प्रहरीले पक्राउ गरेको छ ।