सुर्खेतमा विद्यार्थी भर्नाको लागि घरदैलो अभियान

वैशाख ४, २०८१ | वीरेन्द्रनगर

सुर्खेतमा विद्यार्थी भर्नाको लागि घरदैलो अभियान सुरु गरिएको छ । जिल्लाका स्थानीय तहले विद्यार्थी भर्नाको लागि घरदैलो अभियान सुरु गरेका हुन् । 

जिल्लाको चौकुने गाउँपालिकाले बैशाख ३ गतेबाट विद्यार्थी भर्नाको लागि घरदैलो अभियानको सुरुवात गरेको पालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार घरदैलो अभियान पालिकाका सबै विद्यालयले सुरु गरेका छन् । 

यो अभियान बैशाख १० गतेसम्म सञ्चालन गरिने बुढाले जानकारी दिनुभयो । अभियान १० गतेसम्म हुने भएपनि छुटेका विद्यार्थीहरुलाई भर्ना गर्ने कार्यक्रम केही महिनासम्म रहने उहाँको भनाई छ । पालिकाका ४८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयले भर्ना अभियान सुरु गरेका हुन् ।

चौकुने गाउँपालिका–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले मंगलबारदेखि घरदैलो अभियान सुरु गरेको छ । विद्यालयको सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक जगतराज जोशीले बताउनुभयो । 

शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि, वडा अध्यक्ष लगायतको टोलीले घरदैलो कार्यक्रम गरिरहेको प्रध्यानाध्यापक जोशीले बताउनुभयो ।

जिल्लाको गुर्भाकोट नगरपालिकामा पनि बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको शिक्षा शाखा प्रमुख सुरेन्द्र विक्रम भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पालिकामा रहेका ७२ वटा सामुदायिक र १३ वटा संस्थागत विद्यालयले भर्ना अभियान सुरु गरेका छन् । भर्ना अभियानको क्रममा विद्यालयबाट शिक्षकहरु घरदैलो अभियानमा जुटेका उहाँले बताउनुभयो । 

शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गएर विद्यार्थीको घरदैलोमा जाने गरिएको गुर्भाकोट नगरपालिका–१ मा रहेको नेरा प्राविका प्रध्यानाध्यापक हरिराम पौडेलले बताउनुभयो ।

यस्तै, बराहताल गाउँपालिकाले पनि बैशाख २ गतेबाट भर्ना अभियान सुरु गरेको शिक्षा शाखा प्रमुख डम्बर कुमारी रोकायले बताउनुभयो । उहाँका अनुसार पालिकाका सबै विद्यालयहरुले भर्ना अभियानको लागि घरदैलो अभियानको सुरुवात गरेका छन् । 

विद्यालयका कर्मचारीसंगै, व्यवस्थापन समितिका पदाधीकाहरीहरु पनि भर्ना अभियानमा जुटेका उहाँले जानकारी दिनुभयो । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु विद्यार्थी भर्ना अभियानको लागि घरदैलो अभियानमा जुटेका छन् । 

विद्यार्थी भर्नाको लागि बर्सेनि घरदैलो अभियान सञ्चालन भएपनि कर्णालीमा विद्यालय बाहिर भएका विद्यार्थीको संख्या घट्न सकेको छैन । 

राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णालीका ५ देखि १२ वर्षसम्मका १८ हजार ६ सय १ जना विद्यार्थी विद्यालय बाहिर छन् । जसमा ८ हजार ९ सय ९५ बालिका र ९ हजार ६ सय ६ जना बालक छन् । कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ मा ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् ।


प्रतिक्रिया