वीरगञ्जको सीमावर्ती हेल्थ डेस्कमा एन्टिजेन किट अभाव, परीक्षण ठप्प

वैशाख ५, २०८१ | पर्सा

पर्साको वीरगञ्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा कोभिड एन्टिजेन किट अभाव हुँदा एक महिनादेखि कोरोना परीक्षण ठप्प भएको छ । हेल्थ डेस्क प्रमुख तथा वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरका अनुसार चैत लागेदेखि एन्टिजेन किट सकिएको थियो । 

विगतमा जनकपुरस्थित स्वास्थ्य निर्देशनालयबाट जिल्ला स्वास्थ्य कार्यालय मार्फत किट आउने गरेकोमा यस पटक भने १ महिना भईसक्दा पनि उपलब्ध हुन नसकेको उहाँले जानकारी दिनुभयो । 

‘चैत लागेदेखि किट सक्किएको हो, अझै आई सकेको छैन,’ उहाँले भन्नुभयो, ‘विगतमा स्वास्थ्य निर्देशनालय जनकपुरबाट जिल्ला स्वास्थ्य कार्यालय मार्फत किट आईपुग्थ्यो, यस पटक भने १ महिना भन्दा बढी भयो किट नआएको ।’ 

नेपाली तथा भारतीय नागरिकहरुले समेत एक अर्का मुलुकमा आवागमनका लागि यो नाका अत्यधिक प्रयोग गर्छन् । सामान्य अवस्थामा डेस्कमा १ हजारदेखि २ हजार थानसम्म किट मौज्दात रहने गरेको ठाकुरले बताउनुभयो । 

डेस्कमा दैनिक ५० देखि १ सय हाराहारीमा भारतबाट भित्रिने भारतीय तथा स्वदेश फर्किने नेपाली नागरिकको एन्टिजेन परीक्षण हुँदै आएको थियो । तर, अहिले किट अभावमा एन्टिजेन परीक्षणमा समस्या हुने गरेको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । 

चालू आर्थिक वर्षमा हेल्थ डेस्कले गरेको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको ठाकुरले जानकार दिनुभयो । गत असोज यता कोरोना संक्रमित देखिन थालेका हुन् । 

माघ यता भने नदेखिएको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । संक्रमित २÷३ नेपालीलाई होम आइशोलेशनमा बस्न घरनै पठाइएको छ । संक्रमित नेपालीहरु प्रायः भारतको कोलकाताबाट गंगास्नान गरेर फर्किएकाहरु थिए ।


प्रतिक्रिया