एसीसी प्रिमियर कपः तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित

वैशाख ८, २०८१ | काठमाडौं

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि भएकोे खेलमा नेपालले हङकङसँग पराजय भोग्दै निराशाजनक खेलको अन्त्य गरेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १ सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएसँगै नेपालले जारी खेलमा पूर्णविराम लगाएको हो ।

हङकङसँग पराजित भएसँगै नेपाल नोभेम्बरमा हुने भनिएको एसीसी एमर्जिङ कपबाट समेत बाहिरिएको छ । नेपालले यदि आजको खेलमा जित निकालेको भए सो प्रतियोगितामा सहभागीता जनाउने पाउने थियो । हङकङको जितमा अन्स्य रथले नटआट ६५ रनको अर्धशतकीय पारि खेले । त्यस्तै बाबर हायातले २६ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । शीर्ष क्रमका ब्याटर चल्न नसक्दा नेपाल सस्तैमा समेटिएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाए ।

ओपनर कुशल भुर्तेलले आज पनि कुनैपनि रन बनाउन नसकी पेभेलियन फर्किए भने मध्यक्रमका ब्याटर सुन्दिप जोराले २२, रोहितकुमार पौडेलले २१ तथा कुशल मल्लले १३ रन मात्र बनाउन सके ।

यसअघि हिजो भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट नेपाल बाहिरिएको थियो । प्रतियोगिताको उपाधिका लागि भोलि ओमान र यूइईबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया