इन्टर मिलानले जित्यो 'सिरी ए' लिगको उपाधि

वैशाख ११, २०८१ | काठमाडौं

इन्टर मिलानले चिरप्रतिद्वन्द्वी एसी मिलानलाई पराजित गर्दै इटालियन 'सिरी ए' को उपाधि जितेको छ । इन्टर मिलानले घरेलु लिगको उपाधि २० औं पटक जितेको हो । 

सान सिरो स्टेडियममा सोमबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई २–१ गोल अन्तरले हरायो । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो ।

यो जितसँगै शीर्ष स्थानको इन्टर मिलानको ३३ खेलबाट ८६ अंक भएको छ भने दोस्रो स्थानको एसी मिलानको समान ३३ खेलबाट ६९ अंक छ । 

दोस्रो स्थानको टोली भन्दा १७ अंकको भिन्नता भएपछि इन्टरले लिगको ५ खेल अगावै उपाधि जितेको हो । खेलको १८ औं मिनेटमा फ्रान्सेस्को एसेरबीको गोलबाट इन्टरले अग्रता लिएको थियो । 

मार्कस थुरामले ४९ औं मिनेटमा अर्को गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । एसी मिलानका फिकायो तोमोरीले खेलको ८० औं मिनेटमा एक गोल फर्काए । 

इन्टरले अन्तिम पटक सन् २०२१ मा लिग जितेको थियो । त्यसपछि मिलान र नेपोलीले यसमाथि कब्जा जमाएको थियो ।


प्रतिक्रिया