टिकटकमा प्रतिवन्ध गर्ने कानूनमा अमेरिकी राष्ट्रपति बाइडेनको हस्ताक्षर

वैशाख १३, २०८१ | काठमाडौं

टिकटकमा प्रतिवन्ध लगाउन सक्ने गरी सिनेटबाट पारित भएको कानूनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी संसद्बाट पारित हुनेबित्तिकै अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको सो कानुनले टिकटकको स्वामित्व रहेको कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न विकल्प दिएको छ ।

अघिल्लो मस्यौदामा कम्पनी बिक्रीका लागि ६ महिनाको समय दिने प्रस्ताव गरिएकोमा अहिले पारित विधेयकमा ९ महिनाभित्र सो काम गर्न मिल्ने व्यवस्था गरिएको छ । अमेरिकामा झन्डै १७ करोड व्यक्तिले टिकटक प्रयोग गरिरहेको बताइन्छ ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यकाल अर्थात २०२० को अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र वीच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरिएको थियो ।

तर, त्यो घोषणा कार्यान्वयन हुन सकेको थिएन । त्यसपछि अहिले आएर नयाँ कानून बनाइएको हो ।   


प्रतिक्रिया