सहकारी ठगीको विषयमा गृहमन्त्रीमाथि उजुरी परेपनि तथ्य प्रमाण भेटिएनः नेपाल प्रहरी

चैत्र १४, २०८० | काठमाडौं

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा गरिएको उजुरीमा लामिछानेको नाम आएपनि थप प्रमाण नभेटिएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको विषयबारे जवाफ दिँदै यस्तो बताउनुभएको हो । यस्तै सहकारी ठगीमा मुछिएका जीबी राई मलेसियामा रहेको र सो देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको महानिरीक्षक कुँवरले बताउनुभयो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको सन्दर्भमा संसदीय समितिमा प्रष्टीकरण दिँदै सो प्रकरणमा आफू संलग्न नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र जोडिएको र त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नभएको दावी गर्नुभयो । गृहमन्त्री लामिछानेले सहकारीको बिषयमा अनुसन्धान हुँदा आफूले प्रभाव नपार्ने समेत बताउनुभयो ।

यसअघि समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले सहकारी ठगीको विषय उठाएका थिए । काँग्रेस सांसदले भने सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम आएकाले अनुसन्धान पूरा नभएसम्म पदबाट हट्न आग्रह गरेका थिए । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निष्पक्ष छानविनका लागि गृहमन्त्रीले पद छाड्नुपर्ने बताउनुभयो ।

एमालेका सांसदले भने सहकारी ठगीका मुख्य नाइके भनिएका जीबी राईलाई पक्राउ नगरिएको विषय उठाएका छन् । सो पार्टीका सांसद पृथ्वीसुब्बा गुरुङले राईलाई पक्राउ गर्ने प्रक्रियाबारे सोध्नुभएको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगीको बिषय उठाएर गृहमन्त्री लामिछानेको राजिनामा माग गरिरहेका बेला सो विषयले संसदीय समितिमा समेत प्रवेश पाएको हो ।


प्रतिक्रिया