कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

वैशाख १३, २०८१ | सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त हुनु भएका कँडेलले आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो । 

कर्णालीमा सत्तारुढ दलको बहुमत रहेकोले मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउने निश्चित छ । ४० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई २४ जना सांसदको समर्थन छ । 

एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्री बन्नु भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ जना सांसद छन् । राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।

यसैबीच, सत्ता साझेदार दल माओवादीसँग प्रारम्भिक मन्त्रालय भागबन्डा टुंगिएसँगै मुख्यमन्त्री कँडेलले मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री नियुक्त गर्नु भएको हो । तर, मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । 

यसअघि सामाजिक विकास मन्त्रालयलाई दुबै दलले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् । मंगलबार बसेको दुबै दलको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको हो । 

बैठकमा माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको थियो । 

एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा योजना र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने एमालेका एक सांसदले बताए ।


प्रतिक्रिया