डोल्पामा हिउँ चितुवाको संख्या १२०

फोटो सौजन्य : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पा । 

वैशाख ८, २०८१

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दुर्लभ प्रजातिका १ सय २० वटा हिउँ चितुवा भेटिएको छ । वन्यजन्तु सप्ताहको अवसरमा शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा दुर्लभ प्रजातिको १ सय २० वटा हिउँ चितुवा भेटिएको पाइएको हो । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० वटा दुर्लभ हिउँ चितुवा भेटिएको डिभिजन वन कार्यालयका अधिकृत मुनबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०८० बैशाखदेखि वन क्षेत्रमा सुरु गरिएको हिउँ चितुवा गणनामा ३० वटा भेटिएको हो ।’ 

विश्वभरि ४ हजारदेखि ६ हजार ५ सयको संख्यामा रहेको हिउँ चितुवा एशियाका १२ देशमा पाउने गरिएको रावतले जानकारी दिनुभयो । उहाँका अनुसार जनघनत्वको हिसाबले डोल्पा हिउँ चितुवाको संख्यामा उच्च मानिएको क्षेत्र हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसको अवसर पारेर गत फेब्रुअरी २ मा सार्वजनिक गरेको तथ्यांक अनुसार दुलर्भ हिउँ चितुवाको संख्या ९० थियो । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० र बाहिर सामुदायिक वन क्षेत्रमा ३० गरी डोल्पामा दुर्लभ हिउँ चितुवाको संख्या १ सय २० पुगेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो ।

सन् २०१९ मा हिउ“ चितुवा गणनाको लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको थियो । 

दुर्लभ हिउँ चितुवा गणनाको निम्ति निकुञ्जको ८० लाख र सामुदायिक वन क्षेत्रमा ४८ लाख रुपैयाँ खर्च भएको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिनुभयो । सो आर्थिक सहयोग विश्व वन्यजन्तु कोषको रहेको उहाँको भनाई छ ।

नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक सन् २००९ मा साइन सर्भे अर्थात दुर्लभ हिउँ चितुवाको पाइला, दिसापिसाब गणना गर्दा १ सय १० देखि १ सय ३० को संख्या रहेको तथ्याङ्कमा रहेको निकुञ्जले जनाएको छ । 

हिमचितुवाको मुख्य आहारा झारल, घोरल, नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या ४ हजार भन्दा बढी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा जडान गरिएको ३ सय १९ क्यामेराको ८ बाइट ८ किलोमिटर र ४ हजार ८ सय कभरेज क्षेत्र रहेको छ । 

२०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको प्रख्यात क्षेत्र रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी दिनुभयो । 

हमालका अनुसार निकुञ्ज क्षेत्रको करीब ३ हजारदेखि ४५ सय मिटर उचाइमा हिमचितुवा भेटिने गरेको छ । ३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल निकुञ्जले ओगटेको छ । यो निकुञ्ज भित्र मुगुको मुगुम कार्मारोङ गाउँपालिका सहित डोल्पाका तीन वटा गरी ४ वटा स्थानीय तह पर्ने गरेका छन् ।


प्रतिक्रिया