केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज सुरु हुँदै

वैशाख ४, २०८१ | काठमाडौं

केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १४ औं संस्करण आज सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ । राखेपका अनुसार बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीले ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु समावेश गरिएका छन् । 

एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रामा समान १–१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । 

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । 

यस्तै, कराते ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा समावेश ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यलाई प्रदान गरिएको छ । प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ छ । 

प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ । 

समग्रमा शीर्ष तीन स्थान हात पार्ने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार पुरस्कारबाट पुरस्कृत गरिने छ ।


प्रतिक्रिया