दोस्रो टी-२० क्रिकेट सिरिजमा नेपाल र वेस्ट इन्डिज ’ए’ भिड्दै
वैशाख १६, २०८१ | काठमाडौं
नेपाल र वेस्ट इन्डिज ’ए’ टिमबीचको दोस्रो टी–२० क्रिकेट सिरिज आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बाट सुरु हुनेछ । दुबै टोली आसन्न ट्वान्टी–२० विश्वकप क्रिकेटको तयारीमा छन् ।
नेपाल र वेस्ट इन्डिज दुबैले आफ्नो अन्तिम टोली घोषणा गर्नुअघि सिरिजको दुई खेल खेल्ने छन् । त्यसैकारण हिजो र आजको खेलको प्रदर्शन दुबै टिमका खेलाडीहरुका लागि निकै महत्वपूर्ण छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टी–ट्वेन्टी विश्वकपमा सहभागी हुने सबै टोलीलाई मे १ सम्म अन्तिम टोली घोषणा गर्दै नामावली पेस गर्न निर्देशन दिईसकेको छ ।
आज हुने खेलमा घरेलु टोली लगातार दोस्रो जितको लक्ष्यमा छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले १ सय १२ रनको शतकीय इनिङ्स खेलेका थिए । रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिममा २० जना खेलाडी छन् ।