एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै

वैशाख ५, २०८१ | काठमाडौं

एसीसी टी–२० प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा लगातार तीन खेलमा जित हासिल गरेको नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । 

ओमानको मस्कटस्थित अल अमेरातमा हुने नेपाल र साउदी अरेबियाबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ । एक खेल अगावै समेमिफाइनल पुगेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा पुग्ने लक्ष्यमा छ । 

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो ।

नेपालसँगको आजको खेलमा जित दर्ता गरे साउदी अरेबिया पनि सेमिफाइनल पुग्ने सम्भावना छ । हिजो भएको खेलमा कतारसँग १५ रनले पराजित भएपनि साउदी अन्तिम खेलमा जित दर्ता गर्ने योजनामा रहनेछ । यसकारण पनि समूह चरणको अन्तिम खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । 

समूह ए अन्तर्गतको अर्को खेलमा हङकङले मलेसियाको सामना गर्नेछ । समूह बी अन्तर्गतको खेलमा कम्बोडियाले संयुक्त अरब इमिरेट्स र ओमनले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया