रोहितको कप्तानीमा वेस्ट इन्डिज ’ए’सँग टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

वैशाख १३, २०८१ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजको ’ए’ टिमसँगको पाँच खेलको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । 

क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । पौडेलको कप्तानीमा रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा रहेका छन् । यस्तै, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द टिममा छन् ।


 नेपाल र वेस्ट इन्डिजको ’ए’ टिमबीचको सिरिज पर्सि शनिबारदेखि सुरु हुनेछ । पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजको ’ए’ टोली पनि हिजो नेपाल आइपुगेको थियो ।

वेस्ट इन्डिज ए टिमको कप्तानी रोस्टन चेजले सम्हाल्ने छन् । वेस्ट इन्डिजले सन् २०१६ को टी–२० विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा समावेश छन् ।

विश्वकप अघि यो सिरिज दुवै टिमका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपाल र वेस्ट इन्डिज ’ए’ टिमबीचको टी–ट्वेन्टी सिरिजको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।


प्रतिक्रिया