मोदीकै नेतृत्वमा आगामी सरकार गठन हुने पक्का

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | बीबीसी

भारतको लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएको छ । एनडीएले सबैभन्दा बढी ३ सय ५१ सिट जित्न सफल भएको हो । कुल ५ सय ४३ सीट संख्या रहेको तल्लो सदनमा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ ।

जसमा विपक्षी कंग्रेस गठबन्धन यूपीएले ९२ सिट जितेको छ भने अन्य क्षेत्रीय पार्टीहरुको ९९ सिट छ । ५ सय ४३ मध्ये ५ सय ४२ वटै स्थानको अन्तिम नतिजा आएको छ । तमिल नाडुमा भने निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले चुनाव नै रद्द गरेको थियो ।

एनडीएले पश्चिम बंगाल, ओडिसा, गुजरात, राजस्थान, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, छत्तिसगण लगायत स्थानमा बलियो पकड जमाएको हो । केरल र पञ्जावमा राम्रो नतिजा ल्याएपनि कंग्रेसले अन्य स्थानमा निराशाजनक मत ल्याएको छ । 

नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा आगामी सरकार गठन हुने पक्का भएको छ । नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीले आजैबाट पहल थाल्दै हुनुहुन्छ । उहाँले आज मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ भने राष्ट्रपतिसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ । 

भारतमा गत अप्रिल ११ देखि मे १९ तारिखसम्म सात चरणमा गरी लोकसभा सदस्यका लागि मतदान भएको थियो । मतगणना भने हिजो बिहान ८ बजे सुरु भएको हो । लोकसभा निर्वाचनमा भारतमा विश्वकै सबैभन्दा बढी ९० करोड मतदाता सहभागी थिए । निर्वाचनमा २ हजार पार्टीका र ८ हजार उम्मेदवार सहभागी थिए । 


प्रतिक्रिया