अष्ट्रेलियामा ‘आर यु ओके ?’

भाद्र २७, २०७६ | अष्ट्रेलिया

अंग्रेजीको सामान्य तीन शब्द ‘आर यु ओके ?’ अर्थात तिमी ठिकै छौं ? सुन्दा जति सामान्य लाग्छ यसको भित्री अर्थ उत्ति नै गहन छ । यही तीन शब्दको महत्वलाई अष्ट्रेलियाले विश्वब्यापी रुपमा जीवनबाट हरेस खाएकाहरुलाई जीवन जीउन प्रेरित गर्ने उद्देश्यका साथ फैलाउने कोशिस गरिरहेको छ । 

अष्ट्रेलियामा आत्महत्याको संख्या वर्षेनी बढीरहेको छ । तथ्यांक अनुसार सन २०१७ मा ३ हजार १ सय बढीले आत्महत्या गरेका छन् । आज भन्दा १० वर्षअघि सामान्य कुराकानीले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको थियो ।

अभियान अन्तर्गत आफ्ना साथीभाई, आफन्त, काम गर्ने सहकर्मीहरुका साथै सबैलाई ‘आर यु ओके ?’ अर्थात तिमीलाई ठिकै छ भनेर सोध्न प्रेरित गर्ने गरिएको छ । ‘एउटा सानो कुराकानी वा सामाजिक सम्बन्धले पनि मानिसको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ र यसको महत्व त्यसैले पनि धेरै छ ।’ यस अभियानका स्थापनाकर्ता मध्येका गाभिन कोअनले भनेका छन् । उनले विगत १० वर्षमा यो अभियानले धेरैको जीवनमा परिवर्तन ल्याउन सकेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय रुपमा लैजाने पहल सुरु गरिएको बताए । 

पछिल्लो समयमा नेपाली समुदायमा समेत मानसिक रोग बढ्दै गएको छ । यसका साथै आत्महत्याका घटनाहरु समेत भइरहेका छन् । मानसिक रोगको क्षेत्रमा काम गर्ने नेपाली विशेषज्ञहरुका अनुसार कम्तिमा ५ जनामा एकलाई मानसिक रोगको समस्या देखिएको छ । यो अभियान हामीले नेपाली समुदायमा फैलाउन सकिएको खण्डमा समेत मानसिक रोग र यसबाट पीडित भएका नेपाली सर्वसाधारणका बारेमा जानकारी पाउन सकिने यसै क्षेत्रमा सामाजिक कार्यकर्ताका रुपमा काम गरिरहेकाहरुको भनाई छ । 

‘यो तीन शब्द सुन्दा जति सामान्य र सरल लाग्छ, यसलाई ब्यवहारमा उतारेर आफ्ना साथीभाईको समस्या बुझ्न सक्ने हो भने यो अत्यन्तै प्रभावकारी हुन्छ ।’ यहाँस्थित सामाजिक संस्था रिलेसनसिप अस्ट्रेलियामा रहेर नेपाली समुदायका क्षेत्रमा काम गरिसकेका नबिन पन्त सुनाउँछन् । अहिले एनआरएनको उपादक्ष्य बनेका उनी एनआरएनले आफ्नो महिला फोरम अन्तरगत यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने दाबी गर्छन् ।

अष्ट्रेलियामा सेप्टेम्बर १२ तारिखमा यसलाई ‘आर यु ओके ?’ दिनका रुपमा मनाइने गरिन्छ । यहाँका सरकारीका साथै नीजि कार्यस्थलहरुमा समेत यस अभियानका बारेमा खुलेर कुराकानी गर्न प्रेरित गरिन्छ । ‘यो कुराकानीको शुरुवात गरेर मानिसहरुको जीवनमा परिवर्तन ल्याउन गरिएको सानो पहल हो ।’ संस्थाले हालै जारी गरेको बार्षिक प्रतिवेदनमा भनेको छ । यो अभियान अन्तरगत सहयोग पाउनका लागि प्रेरित गर्ने, स्थानीयहरुमा आत्महत्या लगायतका बिषयहरुमा जनचेतना जगाउने लगायतका छन् । 


प्रतिक्रिया