हङकङलाई अमेरिकाले दिदै आएको विशेषाधिकार खारेज

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७७ | एजेन्सी

अमेरिकाले हङकङलाई दिँदै आएको विशेष अधिकार खारेज भएको छ । हङकङको स्वायत्तता सम्बन्धी ऐनमा राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेसँगै, बेलायतको पूर्व उपनिवेश भएकै कारण हङकङले अमेरिकाबाट पाउँदै आएको विशेषाधिकार खारेज भएको हो । 

अब हङकङलाई अमेरिकाले चीनको मुख्यभूमि सरहको ब्यवहार गर्ने ट्रम्पले बताउनुभएको छ । ट्रम्पले हङकङमा सुरक्षा सम्बन्धी नयाँ ब्यवस्था ल्याएपछि चीनपछि कठोर देखिएको अमेरिकाले पछिल्लोपटक यो कदम चालेको हो । 

ऐनमा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले अब हङकङको स्वतन्त्रता समाप्त गर्न खोज्ने व्यक्ति वा संस्थाविरुद्ध अमेरिकी सरकार थप सशक्त बन्नसक्ने बताउनुभयो । ट्रम्पले चिनियाँ अधिकारी माथिको प्रतिबन्धको निर्णयलाई समेत स्वीकृती प्रदान गर्नुभएको छ ।

चीनको भु–भाग भएपनि हङकङले अमेरिकासँगको यात्रा, ब्यवसाय लगायतमा विशेष अधिकारको उपभोग गर्दै आएको थियो । अमेरिकाले बेलायतको पूर्व उपनिवेश रहेको क्षेत्रहरुलाई समान विशेषाधिकार प्रदान गर्दै आएको थियो । सोही विशेषाधिकारकै कारण हङकङले आर्थिक समृद्धि हासिल गर्न सफल भएको अमेरिकाले दाबी गर्दै आएको छ । 

बेलायत पनि हङकङबासीलाई आफ्नो मुुुलुक आउन चाहे नागरिकता दिने भन्दै बेइजिङ विरुद्ध उभिएको छ । 


प्रतिक्रिया