इजरायमा बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गरिने

मंसिर ६, २०८० | काठमाडौं

इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्बन्धी सम्झौतालाई स्वीकृत गरेको छ ।

बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो । बन्धकहरु छुट्ने समयसम्मका लागि युद्ध रोक्न इजरायल तयार भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

यस अवधिमा पहिलो चरण अन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन् । हमासले थप बन्धक छाड्दै गएमा युद्धविराम पनि केही दिन लम्बिने इजरायल सरकारले जनाएको छ । इजरायली सरकारको वक्तव्यमा भनिएको थप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिने उल्लेख गरिएको छ ।

हमासले इजरायली जेलमा रहेका १ सय ५० प्यालेस्टिनी महिला र बालबालिकाको सट्टामा ५० बन्धकलाई रिहा गर्ने बताएको छ । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । 


प्रतिक्रिया