पाकिस्तानविरुद्ध सिन्धु जल सन्धि निलम्बन जारी राख्ने भारतको अडान

जेष्ठ ३, २०८२ | काठमाडौं
भारतले पाकिस्तानसँग गरिएको सिन्धु जल सन्धि निलम्बन जारी राख्ने बताएको छ । पाकिस्तानले विश्वसनीय र अपरिवर्तनीय रुपमा सीमापार आतंकवादलाई दिएको समर्थन रोक्न नसकेसम्म निलम्बन जारी रहने भारतको केन्द्रीय जल सम्बन्धी मन्त्रालयले जनाएको हो ।
गत अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले इस्लामाबादले निरन्तर सीमापार आतंकवादलाई समर्थन गरेको भन्दै जल सम्बन्धी सन् १९६० को सम्झौतालाई निलम्बन गरेको थियो । सो सन्धिले सिन्धु नदी र यसका सहायक नदीहरुको पानीलाई दुई देशबीच समान रुपमा विभाजन गर्ने प्रयास गरेको थियो ।
सन्धि अनुसार तीन पूर्वी नदीहरु ब्यास, रावी र सुत्लेजबाट भारतलाई र तीन पश्चिमी नदीहरु चेनाब, सिन्धु र झेलमबाट पाकिस्तानलाई पानी विनियोजन गरिएको थियो ।