जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राष्ट्रिय सभामा अल्पमत

असार ३२, २०८२ | काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सत्तारुढ नेपाली कंग्रेस र एमालेको नेतृत्वसँग सरकारमा सहभागी हुने गरी छलफल गरेको केही दिनपश्चात् जसपा नेपालले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो । आफूहरुले उठाएका मुद्दामा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएपछि समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकोे अधिकारीको भनाइ छ । संघीय संसदको दुवै सदनमा गरी ८ सांसद भएको जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।
प्रतिनिधिसभामा ५ सांसद भएको जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकारलाई संसदीय अंकगणितको हिसावमा कुनै फरक नपर्ने देखिन्छ । राष्ट्रिय सभामा सो पार्टीका तीन सांसद छन् । जसपा नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा भने सत्तापक्ष अल्पमतमा पर्ने भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपाका १ र मनोनित १ सांसद मात्रै छन् । अब राष्ट्रिय सभाको विपक्षमा बहुमत हुने भएको छ ।
माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, मनोनित १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । ओली नेतृत्वको सरकारले एक बर्ष व्यतित गरेको अवस्थामा एक सत्तारुढ घटक जसपाले समर्थन फिर्ता लिएको हो ।