चन्द्रागिरी डाँडा / प्राकृतिक सुन्दरता अवलोकनसंगै केबलकारको मज्जा

आश्विन २७, २०७३ | काठमाडौं
किरण अधिकारी
राजधानी तथा आसापासका क्षेत्रका बासिन्दाका लागि चन्द्रागिरी डाँडा अब नयाँ पर्यटकीय गन्तब्य बनेको छ । थानकोटस्थित त्रिभुवन पार्कबाट रमणीयस्थल चन्द्रागिरी डाँडामा पुग्नेगरी केबलकार सञ्चालन सुरु भएपछि ऐतिहासिक महत्वको चन्द्रागिरीको प्राकृतिक सुन्दरता अवलोकनका लागि समेत सर्वसाधारणलाई सहज भएको छ । ४ अर्ब रुपैयाँ लागतमा यो केबलकार निर्माण सम्पन्न भएको सञ्चालकले बताएका छन् ।
काठमाडौं फनपार्कले ऐतिहासिक महत्वको चन्द्रागिरी पुग्नका लागि केबलकार निर्माण गरी सञ्चालन थालेपछि काठमाडौं आसपास नै घुम्न चाहाने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण चन्द्रागिरी पुग्नका लागि सञ्चालन थालिएको यो केबलकार मुलुककै दोश्रो हो ।
यसअघि २०५५ सालमा कुरिनटारबाट गोरखाको मनकामना जानको लागि केबलकार निर्माण भएको थियो । मिनबहादुर गुरुङ, चन्द्र ढकाल, अम्बिका पौडेल र उत्तम नेपालको संयुक्त लगानीमा निर्माण भएको सो चन्द्रागिरी केबलकारको दशै, तिहार पछि मात्र औपचारीक उद्घाटन हुँदैछ । कानुनी प्रक्रिया पुरा हुन केही बाँकी रहेकाले सकिएलगत्तै औपचारिक उद्घाटन गरिने लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो ।
७ वर्ष अघि १ सय २० रोपनी भन्दा बढी जग्गामा निर्माण थालिएको यो परियोजना २ वर्षअघि पुरा भएर गत बैंशाखदेखि आंशिक सञ्चालनमा आएको हो । चन्द्रागिरीमा केबलकारसँगै मन्दिर र फोर–डि थिएटरदेखि एमेजन पार्क बनिरहेको छ । ३६ हेक्टर वनक्षेत्र नेपाल सरकारसँग ४० बर्षका लागि भाडामा लिइएको सो परियोजना अन्तर्गतको केबलकारको बटम स्टेशन भने आफ्नै जग्गामा छ । थानकोटमा रहेको त्रिभुवन पार्कको टुप्पोबाट २ सय मिटर उक्लिएपछि आउने बटम स्टेशनबाट केबलकार चढ्न सकिन्छ । जंगलबाट सुरु भएको यात्रा जंगलमा नै सकिने विशेषता रहेको परियोजनामा घुम्न पाउँदा रमाइलो भएको अवलोकनकर्ता बताउछन् ।
प्रबद्र्धकहरु भने केबलकारमा चन्द्रागिरी पुगेर फर्कदा ७ सय रुपैयाँ टिकट सहित करिब १ हजार ५ सय रुपैयाँसम्म लाग्ने अनुमान गर्छन् । त्यहाँ भएका खेल मैदान, बालबालिकाका लागि पार्क, होटेल लगायत सेवा सुविधा उपभोग गर्नेले सोही अनुसारको खर्च गर्नुपर्नेछ । चन्द्रागिरी डाडामा रहेको भालेस्वर ज्योतीर्लिङको समेत दर्शन गर्न पाउने भएकाले सेवाग्राही लाभान्वित हुने लगानीकर्ता मध्येका अम्बिका पौडेल बताउनुहुन्छ ।
चन्द्रागिरी हिल्स प्रालिले प्रत्येक दिन ३८ वटा केबलकार सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रत्येक केबलकारमा ८ जनासम्म चढ्न सक्नेछन् । प्रतिघण्टा १ हजार यात्रु ओसार्ने केबलकार जोखिममुक्त रहेको निर्माण पक्षले जनाएको छ । केबलकार औपचारिक रुपमै सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको समेत आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ