मुस्ताङमा तिर्थयात्री बोकेको बस दुर्घटना ५ जनाको मृत्यु/ ३० घाइते

वैशाख ९, २०७४ | मुस्ताङ
मुक्तिनाथ मन्दिरबाट मुस्ताङको जोमसोम आउँदै गरेको यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । मुक्तिनाथ गएर आएका तिर्थयात्री बोकेको ना ५ ख ६०६७ नम्बरको बस दिउँसो साढे १२ बजे मुक्तिक्षेत्र गाउँपालिका ४ झारकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा काठमाण्डौ कोटेश्वरका भोला अधिकारी र पुरुषोत्तम ढकाल, थानकोटकी शान्ति खड्का, भक्तपुर चांगुनारायणकी सीता तिमिल्सेना र ललितपुर महालक्ष्मीकी लिला खड्काको मृत्युु भएको प्रहरीले जनाएको छ । घाईते ३० जनामध्ये १४ जनाको पोखरामा उपचार भईरहेको छ ।
खराब मौसमका बीच हेलिकप्टरबाट उनीहरुलाई पोखरास्थित मणिपाल अस्पताल ल्याईएपनि आन्दोलनमा रहेका चिकित्सकले उपचार गर्न अस्विकार गरेपछि अन्य अस्पतालमा लगिएको थियो ।
रेडियो कान्तिपुरसँग कुरा गर्दै घाईते रामभक्त खड्काले चालकको लापरवाहीका कारण दुर्घटना भएको बताउदै यात्रुले सचेत लगाउदा पनि बस नरोकेकाले बस पल्टिएको जानकारी दिनुभयो र
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, बसमा सवार यात्रुको यकिन तथ्याङ्क अझै आउन सकेको छैन ।
दुर्घटनामा सामान्य घाइते भएकाको जिल्ला अस्पताल जोमसोममा उपचार गरिएको छ । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमी उत्तरमा पर्छ ।