जोमसोम तनावग्रस्त, वाणिज्य मन्त्री गौचन रकमसहित समातिए

वैशाख ३०, २०७४ | मुस्ताङ
वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँडेको आरोप लागेपछि मुस्ताङको जोमसोम बजार तनावग्रस्त बनेको छ । कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवार सर्मथित कार्यकताको प्रदर्शनका कारण बिहानैबाट जोमसोम बजार तनावग्रस्त बनेको हो ।
प्रदर्शनकारीहरुले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । निर्वाचनको एक दिन अघि भएको घटनाले स्थिति असहज हुन नदिन सदरमुकाममा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ । मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीयको घरमा राखेको छ ।
प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ–ठाउँमा मुढा तेस्र्याएर सवारी सञ्चालनमा अवरोध पुर्याएका हुन् । सवारी नचल्दा मुक्तिनाथ जान लागेका र फर्कदै गरेका दर्शनार्थीहरु मर्कामा परेका छन् ।
एमालेका पूर्व सांसद चन्द्रबहादुर गुरुङले मन्त्री गौचनले भोट किन्न पैसा बाँढ्दै गरेको अवस्थामा समातेर प्रहरीलाई बुझाइएको दावी गर्नुभयो । भोली हुने चुनावलाई लक्षित गरी अहिले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र उम्मेदवारहरुबीच वार्ता भइरहेको छ ।