अनशन बसेकाको जीवन रक्षा गर्न सरकारलाई आयोगको आग्रह

असार १७, २०७७ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथामका लागि प्रभावकारी काम गर्न माग गर्दै अनशन बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । 

आयोगका प्रवक्ता वेद भट्टराईले बुधबार विज्ञप्ति जारी गरी अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गर्नुभएको हो । 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर सुजान गुरुङ, सुवानी सिजापति लगायतका व्यक्तिहरु पाटन दरवार क्षेत्रमा ६ दिनदेखि अनसनमा छन् ।

गुरुङ र सिजापतिलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ भने अर्का एक जना आमरण अनसनमा बसेका छन् । 

अनसन स्थलको अनुगमनका क्रममा रिले अनसनमा बसेका रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनिता तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगले जनाएको छ । 

आयोगले विरोधका कार्यक्रम गर्दा कोरोना रोकथामका लागि सरकारले लागू गरेका मापदण्ड पालना गर्न पनि अनशनरत पक्षलाई आग्रह गरेको छ । 


प्रतिक्रिया