देवचुली जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो
कार्तिक २६, २०८० | पूर्वी नवलपरासी
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षका चिरन अर्यालको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको डण्डास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अर्याल सहित सो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमै ३ महिला सहित ६ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा बौदीकाली गाउँपालिका–६ का २९ वर्षीय जिप चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर र बुलिंङटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको मृत्यु भएको हो । अन्य २ जनाको सनाखत हुन सकेको छैन ।
बौदीकाली गाउँपालिकाको माझ–डाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना स्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझ–डाँडाबाट सुन्तला सहित स्थानीयहरु जिपमा चढेका थिए ।