तिलोत्तमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा

वैशाख २३, २०८२ | तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा ‘सडक आश्रित मानवमुक्त पालिका’ भएको घोषणा गर्नु भएको हो ।
अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । तिलोत्तमा–६ स्थित मानव सेवा आश्रमसँग सहकार्य गर्नेगरी मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले घोषणापत्र हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले तिलोत्तमाले गरेको यो कार्य मानव संस्कृतिको उत्तम कार्य भएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशलाई नै सडक आश्रित मानवमुक्त प्रदेश बनाउने तयारी भईरहेको समेत जानकारी दिनुभयो ।
घोषणा घोषणामै सीमित नभएर यसको दीर्घकालिन कार्यान्वयनलाई ध्यान दिनुपर्नेमा समेत मन्त्री तिमिल्सिनाले जोड दिनुभयो । यस्तो कामका लागि प्रदेश सरकार समन्वयकारी भूमिका खेल्न तयार रहेको मन्त्री तिमिल्सिनाको भनाई छ ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमालाई हरेक हिसाबले अघि बढाउने कार्यमा आफूहरु प्रयासरत रहेको बताउनुभयो । मानव सेवा ठूलो धर्म भएकाले पुण्य काममा पालिका लाग्नु समग्र नगरबासिकै लागि राम्रो भएको उहाँले बताउनुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले समकालीन नेपाली समाजमा मानवीय मूल्य, इमान्दारिता, सदाचार, सहयोग, आत्मियता, भाइचारा, न्याय आदिमा ह्रास आइरहेकाले त्यसलाई पुनः स्थापना गर्न सेवा आश्रम महत्वपूर्ण स्थान भएको बताउनुभयो ।
उहाँले समाजसँगको निरन्तर अन्तरक्रियाले मात्र रुपान्तरण सम्भव भएको भन्दै सो कार्यको दिगोपनामा पालिकाले ध्यान दिने बताउनुभयो । उहाँका अनुसार मानव सेवा आश्रमका लागि गत वर्ष नै तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको थियो भने हरेक वर्ष सहयोग र सहकार्यक गरी पालिका अघि बढनेछ ।