कञ्चनपुरका ४ पालिकामा आज सार्वजनिक बिदा

जेष्ठ २२, २०८२ | काठमाडौं

कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

 बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छ भने लालझाडी गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको जानकारी दिनुभयो । बेलौरीको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ । 

मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट दर्शनार्थीहरू त्यहाँ जाने गरेका छन् ।


प्रतिक्रिया