प्रतिनिधिसभा आज पनि प्रभावित, माओवादी केन्द्र लचिलो हुने संकेत

जेष्ठ २२, २०८२ | काठमाडौं
प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज पनि प्रभावित भएको छ । भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागले अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको थियो । तर निर्धारित समयभन्दा ढिलो गरी बसेको बैठकमा प्रतिपक्षी दलले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि स्थगित गर्नुभएको छ । प्रतिनिधिसभा लगातार अवरुद्ध हुँदा १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु हुन सकेको छैन ।
राष्ट्रिय सभाको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ । आजको बैठकमा विभिन्न दलका सांसदहरुले धारणा राखेका थिए ।
माओवादी लचक हुने संकेत
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध खुलाउने विषयमा लचक हुने संकेत गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवासमा बिहान बसेको बैठकले संसद खुलाउने विषयमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको भूमिकाका आधारमा निकासका लागि अधिकतम पहल गर्ने बताउनुभयो । गृहमन्त्री जोडिएकोे प्रकरणमा छानबिन अपरिहार्य रहेको भन्दै व्यक्ति विशेषका लागि संसद अवरोध नगरेको उल्लेख गर्नुभयो । सापकोटाले सत्ता पक्ष र विपक्षी अन्य दलसँग छलफल गरी सदन खुलाउने विषयमा पार्टीले अग्रसरता लिने निर्णय भएको जानकारी दिनुभयो ।