इण्डियाविद्धरुको खेलमा नेपाल ७ विकेटले पराजित

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | काठमाडौं

एसीसी इमर्जिङ एसिया कपको शुरुआत नेपालले हारबाट गरेको छ । इण्डियाविद्धरुको खेलमा नेपाल ७ विकेटले पराजित भयो । बंगलादेशको ढाकामा भएको खेलमा १ सय ९४ रनको लक्ष्य इण्डियाले तले ४२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

इण्डियाको जितमा सनबीर सिंहले ५६ रनको योगदान दिए । त्यस्तै अर्मान जाफर ५१ रनमा अविजित रहे । कप्तान बी आर शरथ ४९ रनमा आउट भए । नेपालका करण केसी, सुसन भारी र ललित नारायाण राजवंशीले समान १ विकेट लिए ।

यसअघि इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपाल ४५ ओभरमा १ सय ९३ रनमा अल आउट भयो । नेपालका लागि पवन सरार्फले ४९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । नेपालले आज खराब शुरुआत गरेको थियो । 

पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले पनि २८ रनमात्रै जोडे । दोस्रो विकेटका लागि शरद भेषावकर र कुशल भुर्तेलले ५४ रनको साझेदारी गरेका थिए ।शरद ४४ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २४ र करण केसीले २० रनको योगदान गरे ।

अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । इण्डियाका सौरभ दुबेले सर्वाधिक ४ विकेट लिए । यश राठोडले ३ तथा पार्थ रेखाडेले २ विकेट लिए । 

समूह ए मा आज ओमानले श्रीलंकालाई ४ विकेटले हराएको छ । दोस्रो खेलमा आगामी शनिबार नेपालले हङकङको सामना गर्नेछ । दुबै समूहको शीर्ष २ टोलीले अघिल्लो चरणमा प्रवेश गर्नेछन् । 


प्रतिक्रिया