टी-ट्वान्टी क्रिकेट बारे निर्णय गर्न एसीसीको बैठक बस्दै

असार २५, २०७७ | काठमाडौं

एसिया कप टी–ट्वान्टी क्रिकेटबारे निर्णय गर्न एशियाली क्रिकेट काउन्सिल एसीसीको बैठक बिहीबार बस्दैछ । बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा भारतीय क्रिकेट नियन्त्रण बोर्डका अध्यक्ष सौरभ गांगुलीले आगामी सेप्टेम्बरमा तय भएको एसिया कप रद्द भएको बताएका थिए । 

कोरोनाको महामारी कायम रहेपछि प्रतियोगिता अन्योलमा रहेकै बेला बस्ने एसीसीको बैठकले त्यसबारे निर्णय गर्नेछ । एसिया कप टी–२० प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय थियो । 

नेपाल भने एसिया कप यात्राको पहिलो चरणबाटै बाहिरिसकेको थियो । गत फागुनमा थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गर्दै चौंथो स्थानमा रहेर नेपाल बाहिरिएको थियो । 

एसिया कप रद्द भए सेप्टेम्बरमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल गर्न बाटो खुल्ने छ । आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदैछ । सो विश्वकप अघि आइपीएल हुने सम्भावना बढेको हो । टी–२० विश्वकप सरेको खण्डमा आइपीएल अक्टोबर नोभेम्बरमा गर्ने योजना बीसीसीआईको छ । 


प्रतिक्रिया