गोरखाको गण्डकी गाउँपालिकामा दिर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

तस्बीर सौजन्यः गण्डकी गाउँपालिका 

माघ २१, २०८० | गोरखा

गोरखाको गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

 विश्व क्यान्सर दिवस पारेर सो गाउँपालिका ६ स्थित आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा एक कार्यक्रमका बीच स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । दिर्घरोगीलाई बार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो ।

 उहाँका अनुसार गाउँपालिकामा सूचीकृत अहिले ८४ जना दिर्घरोगी छन् । दिर्घरोगीहरुलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले बीमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 प्रशासकीय प्रमुख उपरकोटीका अनुसार गर्भवति महिलाहरुलाई समेत एक वर्षका लागि सोही बराबरको बीमा कार्यक्रम लागू गरिएको हो । 

गाउँपालिकामा अहिले एक सय जना गर्भवती रहेको अनुमान गरिएको छ । 

आजबाट सुरु गरिएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि पालिकाले चालु आर्थिक वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  


प्रतिक्रिया