कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो

चैत्र ५, २०८० | काठमाडौं

सुन तस्करीमा मुछिएका सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । 

रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै कपिलवस्तु पुगेका महरालाई आज बिहान नियन्त्रणमा लिइएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदन अनुसार आरोपितहरुलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई निर्देशन दिनुभएको थियो ।

गृह मन्त्रीपछि निर्देशन लगत्तै महरा प्रहरीको निगरानीमा थिए । गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट भेपमा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

उनीहरुलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसदमा माग उठेको थियो । 

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको देखिएको छ । 


प्रतिक्रिया