संस्थागत विद्यालयले चर्को शुल्क असुल्दै, स्थानीय तह मुकदर्शक

वैशाख ८, २०८१

संस्थागत विद्यालयले लिने शुल्कमा एकरुपता नहुँदा अभिभावक मर्कामा परेका छन् । नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि स्थानीय तहले संस्थागत विद्यालयले लिने शुल्कमा अनुगमन नगर्दा अभिभावक, विद्यार्थी मर्कामा परेका हुन् । सरकारले गरेको वर्गीकरण अनुसार विद्यालयले शुल्क लिनु पर्ने हो तर विभिन्न शीर्षकमा शुल्क बढाएर लिने गरेको अभिभावकको गुनासो छ । 

नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि स्थानीय तह भने शुल्कका विषयमा बेखबर छन् । एउटै वर्गका विद्यालयले फरक शुल्क लिने गरेको अभिभावकले बताएका छन् । कतिपय स्थानीय तहले अभिभावकको सहभागितामा शुल्क तोक्न सूचना जारी गरेपनि विद्यालयले अटेर गरेका छन् । ललितपुर महानगरपालिकाले धेरै शुल्क लिने कतिपय विद्यालयलाई अभिभावकको भेलाबाट शुल्क निर्धारण गर्न यसअघि नै पत्राचार गरेपनि अहिलेसम्म विवरण नबुझाएको शिक्षा शाखा अधिकृत महेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो । 

स्थानीय तहका जनप्रतिनिधिको उदासिनताका कारण अभिभावक चर्को शुल्क तिरेर आफ्ना बालबालिका पढाउन बाध्य छन् । वर्गीकरण अनुसार विद्यालयले शुल्क लिन पाउने सरकारले यसअघि नै निर्णय गरेपनि मनोमानी ढंगले शुल्क लिने विद्यालयलाई कुनै कारबाही गर्न सकेको छैन । यस्तै काठमाण्डौं महानगरपालिकाले पनि संस्थागत विद्यालयको शुल्कका बारेमा अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन । 


प्रतिक्रिया