हुम्लाका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

चैत्र १५, २०८० | हुम्ला

हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना भईसक्दा पनि हुम्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ । 

गत फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपनि हुम्लाका सातै स्थानीय तहमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । सदरमुकाम सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा १, २, ५ र ८ को पुस्तक अझैसम्म नपुगेकाले पठनपाठनमा समस्या भएको प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । 

यस्तै, सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यामिक विद्यालयमा पनि कक्षा १ र ८ को पाठ्यपुस्तक नपुगेको प्रधानाध्यापक रामराज शाहीको भनाई छ । जिल्लाको दक्षिण भेगमा पर्ने अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक नपुगेको ताँजाकोट गाउँपालिका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले बताउनुभयो । 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक पुगेपनि कक्षा ६ देखि १० को किताब अझैसम्म नपुग्दा पठनपाठन प्रभावित भएको ढकालको भनाई छ । कक्षा ६ देखि १० सम्म पाठ्यपुस्तक नपुगेपछि यो क्षेत्रका ७ सय ९९ जना विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

जिल्लाका अन्य पालिकामा समयमै पाठ्यपुस्तक नपुगेपनि चंखेलीका अधिकांश विद्यालयमा भने पाठ्यपुस्तक पुगेको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । 

अदानचुली गाउँपालिकामा १ देखि ५ का पुस्तक पुगेपनि ६ देखि १० का पाठ्यपुस्तक नपुगेको शिक्षा शाखा प्रमुख मनदत्त ढकालको भनाई छ । ‘पाठ्यपुस्तकको लिस्ट पठाएका छौं,’ उहाँले भन्नुभयो, ‘१, २ दिनमै विद्यालयमा पुस्तक पुग्छ ।’

यस्तै, नाम्खा गाउँपालिकाको लिमि र अन्य केही विद्यालयमा पुस्तक नपुगेको शिक्षा शाखा प्रमुख मनराज बुढाले बताउनुभयो । १ देखि ५ कक्षाको पुस्तक विद्यालयमा पुगेपनि ६ देखि १० सम्मका विद्यार्थीले भने किताब नपाएको खार्पुनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख ललिजन शाहीले बताउनुभयो ।

जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा पनि अन्य पालिका जस्तै ६ देखि १० सम्मका पुस्तक अभावले पठनपाठनमा समस्या भएको शिक्षा शाखा प्रमुख बिरजन शाहीको भनाई छ । 

केही विद्यालयमा पुगेपनि केहीमा समस्या भएको शाहीले बताउनुभयो । गत वर्ष समयमै पाठ्यपुस्तक पुगेपनि यसवर्ष जनक शिक्षा साम्रगी केन्द्रका कारण हुम्लाका अधिकाश विद्यालयमा पठनपाठन प्रभावित भएका छन् । 

प्राय पालिकाले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । हुम्ला मात्रै होईन कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पनि पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएका छन् । 


प्रतिक्रिया