आजबाट कक्षा १२ को परीक्षा सुरु

वैशाख १४, २०८१ | काठमाडौं

विद्यालय तहको अन्तिम परीक्षाको रुपमा लिइने कक्षा १२ को परीक्षा आज सुरु भएको छ ।

देशभरका ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र सबैभन्दा कम मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र तोकिएको छ । आज बिहान ८ बजे सुरु परीक्षामा ४ लाख ९१ हजार ४ सय १७ विद्यार्थी सहभागी भएका छन् ।

प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । २०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिएका छन् । त्यस्तै, १८ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जनाएको छ । कक्षा १२को परीक्षा यही बैशाख २६ गतेसम्म जारी रहनेछ ।  


प्रतिक्रिया