रुपन्देहीको तिलोत्तमामा तीन दिने प्रथम ज्ञान उत्सव सुरु

चैत्र १५, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम दलित ज्ञान उत्सव सुरु भएको छ । दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको उत्सवमा दलित ज्ञान, सीप एवं श्रम सम्बन्धी छलफल तथा जातिय विभेदका विभिन्न शीर्षकमा अन्तरक्रिया गरिनेछ । 

सो उत्सवको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफूहरु जातिय विवेद अन्त्य गर्नेतर्फ अघि बढेको बताउनुभयो । नगरपालिकाले दलित रणनीति नै निर्माण गरी पालिका भित्र सामुदायिक सहिष्णुता कायम गर्न प्रयासरत रहेको उहाँको भनाई छ । 

त्यस्तै उपप्रमुख जगेश्वर देवी चौधरीले यस प्रकृतिका कार्यक्रमले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिने हुनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिएर सामाजिक समावेशीकरणमा सहकार्य गर्दै दलित समुदायलाई अवसरमा प्राथमिकता दिनेगरी नगरपालिकाले भूमिका निर्वाह गर्ने बताउनुभयो । 

कार्यक्रममा दलित रिडर्सका अध्यक्ष रुकमणि नेपालीले दलित आन्दोलनको नयाँ इतिहास कोर्दै जात ब्यवस्थाले निर्माण गरेको सामाजिक विवेद अन्त्य गर्न यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

उहाँले दलितसँग पनि ज्ञान हुन्छ र भन्ने समाजलाई प्रतिशोध स्वरुप दलित श्रम, सीप र उधमको उदाहरण समाजमा पस्किन समेत उत्सवले सघाउने उल्लेख गर्नुभयो । समाजमा विद्यमान रहेको दलितले पढ्न, लेख्न वा उनीहरुमा कुनै प्रकारको उच्च ज्ञान हुँदैन भन्ने भ्रम चिर्न यो उत्सव फलदायी बन्ने उहाँले बताउनुभयो । 

यस्तो उत्सव देशमै पहिलो पटक हुन गइरहेकाले हरेक प्रदेशबाट आउने वक्ता वा सहभागीले दलित र गैरदलितबीच राखिने असमान व्यवहारलाई हटाउन सघाउने विश्वास लिइएको उहाँको भनाई छ । 

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्त्वपूर्ण योगदान रहे पनि श्रम, सीप र उद्यमशीलतासँग जोडिएको दलित ज्ञानको उचित सम्मान, संरक्षण र प्रवर्द्धन हुन नसकिरहेकाले उत्सव गर्न लागिएको उहाँको भनाइ छ ।


प्रतिक्रिया