सभा र गोष्ठी गरेर मात्रै जलवायु परिवर्तन रोकिंदैन : मुख्यमन्त्री राउत

पुस २९, २०७६ | जनकपुरधाम

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सभा र गोष्ठी गरेर मात्रै जलवायु परिवर्तन नरोकिने बताउनु भएको छ । जनकपुरमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जलवायु परिवर्तन रोक्न फिल्डमै गएर काम गर्नुपर्ने बताउनुभयो । 

आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभा गोष्ठीमा केलाउने प्रवृति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो । चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्दै उहाँले नदीजन्य पदार्थको अवैद्य दोहान तथा वन विनास रोक्नुको साटो जलवायु परिवर्तनका नाममा सभा–सम्मेलन गरेर समय खर्चिनु दुभाग्यपूर्ण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहुँ वन विनास हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हुँदैछ । हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन्, संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन । यो भन्दा ठूलो दुर्भाग्यको कुरा अरु के होला ।’

तल देखि माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत उहाँले लगाउनुभयो । विकासको नाममा चुरे र वन जंगल विनास गर्ने काम भईरहेको तर्फ सचेत गराउँदै मुख्यमन्त्री राउतले अहिले विभिन्न नेताहरुले चुरे विनास गरेर धमाधम सडक विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।

प्रकृतिमाथि भईरहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरेको भन्दै उहाँले अवैद्य उत्खनन् अविलम्ब नरोकिए ठूलो समस्या निम्तिने चेतावनी समेत दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठान सदस्य डा. सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया